Logo

Aug 21 2026 | २०८३, भाद्र ५गते

जापानिज इन्सेफ्लाइटिसबाट सप्तरी र कैलालीमा चारजनाको मृत्यु

जापानिज इन्सेफ्लाइटिसबाट सप्तरी र कैलालीमा चारजनाको मृत्यु

सप्तरी : सप्तरीमा जापानिज इन्सेफ्लाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। तिलाठी कोइलाडी गाउँपालिका १ का ७४ वर्षीय सत्यनारायण यादव र राजगढ गाउँपालिका ३ का १४ वर्षीय शिवकुमार रामको जापानिज इन्सेफ्लाइटिसका कारण मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य अधिकृत शतिश यादवले जानकारी दिए।

दुवै जनाको गत साउन २१ गते उपचारका क्रममा मृत्यु भएको थियो। यादवको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा र रामको गोल्डेन हस्पिटल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको बताउँदै स्वास्थ्य अधिकृत यादवले जापानिज इन्सेफ्लाइटिसबाट जिल्लामा अन्य तीन जना बिरामी भएका जानकारी दिए।

बिरामीहरू उपचारपछि घर फर्किसकेका जनाउँदै उनले तीमध्ये दुई जनाको मृत्यु भएको उल्लेख गरे। स्वास्थ्य अधिकृत यादवले अहिलेको समयमा यो रोग लाग्न नदिन लामखुट्टेको टोकाइबाट बच्न आवश्यक रहेकामा जोड दिए।

उनले साँझपख घर बाहिर ननिस्कने, खेतबारीमा काम गर्दा लामो बाउला भएका लुगा लगाउने, सुत्ने बेला झुलको प्रयोग गर्नेलगायत गरेमा लामखुट्टेको टोकाइबाट बच्न सकिने धारणा राखे।

यसैबीच, कैलालीको घोडाघोडी नगरपालिकामा पनि जापनिज इन्सेफ्लाइटिसको सङ्क्रमणबाट दुई जनाको मृत्यु भएको छ।

उपचारका क्रममा घोडाघोडी ४ र ९ का दुई जनाको मृत्यु भएको नगरपालिकाका सिनियर अहेब मानबहादुर बोहराले जानकारी दिए। उनका अनुसार मृत्यु हुनेमा ३४ र ७० वर्षीया महिला छन्।

सिनियर अहेब बोहराका अनुसार घोडाघोडीमा पछिल्लो तीन वर्षयता जापनिज इन्सेफलाइटिसका बिरामी देखिन थालेका हुन्।

अघिल्लो आर्थिक वर्षमा वडा नं ४ का एक जनामा सङ्क्रमण देखिए पनि उपचारपछि उनी निको भएका थिए।

आर्थिक वर्ष २०८१/८२ मा वडा नं ५ र ६ का दुई जनामा सङ्क्रमण देखिएको थियो भने यस वर्ष सङ्क्रमणबाट दुई जनाको मृत्यु भएको हो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट