Logo

Aug 21 2026 | २०८३, भाद्र ५गते

पेरुमा ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

पेरुमा ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

काठमाडौँ :  दक्षिण अमेरिकी देश पेरुको मध्य क्षेत्रमा बिहीबार ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार भूकम्पका कारण तत्काल मानवीय क्षति वा भौतिक संरचनामा क्षति भएको विवरण प्राप्त भएको छैन।

यूएसजीएसका अनुसार भूकम्प ९९ किलोमिटर गहिराइमा गएको थियो। यसको केन्द्रबिन्दु एन्डिज पर्वत क्षेत्रमा पर्ने एनिसोबाट करिब ३१ किलोमिटर उत्तरपश्चिममा रहेको थियो।

भूकम्पपछि स्थानीय बासिन्दा त्रसित भएर घरबाहिर सडकमा निस्किएका थिए। तर पेरुको जियोफिजिकल इन्स्टिच्युट (आईजीपी) का प्रमुख हर्नान्डो ताभेराका अनुसार भूकम्प गहिराइमा गएकाले ठूलो क्षति हुनबाट जोगिएको हो।

स्थानीय रेडियो आरपीपीसँग कुरा गर्दै ताभेराले भने, “चिन्ताका कारण मानिसहरू सडकमा निस्किए, तर कुनै प्रभाव परेको छैन।”

आईजीपीले सुरुमा भूकम्पको तीव्रता ७.२ म्याग्निच्युड रहेको जनाएको थियो। पछि अमेरिकी भूगर्भ सर्वेक्षणले यसको तीव्रता ६.७ म्याग्निच्युड रहेको जनाएको हो।

पेरु विश्वको दोस्रो ठूलो तामा उत्पादक देश हो। यो देश प्रशान्त महासागर वरपर फैलिएको भूकम्पीय क्षेत्र ‘प्यासिफिक रिङ अफ फायर’ मा अवस्थित छ। विश्वभर हुने भूकम्पीय गतिविधिमध्ये करिब ८५ प्रतिशत यही क्षेत्रमा हुने गरेको बताइन्छ।

भूकम्पपछि अधिकारीहरूले सम्भावित क्षतिको अवस्थाबारे निगरानी जारी राखेका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट