Logo

Aug 21 2026 | २०८३, भाद्र ५गते

अङ्कुरम् एकेडेमीमा बृहत् दन्त शिविर :बाह्र सय बढी लाभान्वित

अङ्कुरम् एकेडेमीमा बृहत् दन्त शिविर :बाह्र सय बढी लाभान्वित

 चितवन : भरतपुर–७, कृष्णपुरस्थित अङ्कुरम् एकेडेमीमा आयोजित दुईदिने बृहत् दन्त शिविर शुक्रबार सम्पन्न भएको छ । विद्यालयको स्वास्थ्य तथा कल्याण विभागको आयोजना तथा चितवन मेडिकल कलेज (सिएमसी) को प्राविधिक सहयोगमा सञ्चालित उक्त शिविरमा एक हजार २४३ जना विद्यार्थी तथा शिक्षक–कर्मचारीको दन्त परीक्षण गरिएको विद्यालयले जनाएको छ ।

 

विद्यालयमा अध्ययनरत बालबालिका तथा कार्यरत शिक्षक–कर्मचारीको मुख तथा दन्त स्वास्थ्यको अवस्थाबारे जानकारी लिने, आवश्यक परामर्श प्रदान गर्ने र समयमै थप उपचारका लागि सचेत गराउने उद्देश्यले शिविर सञ्चालन गरिएको हो । मुख स्वास्थ्यको प्रत्यक्ष सम्बन्ध समग्र शारीरिक स्वास्थ्य, आत्मविश्वास तथा दैनिक जीवनको गुणस्तरसँग जोडिएको तथ्यलाई मध्यनजर गर्दै विद्यालयले दन्त शिविरलाई आफ्नो वार्षिक स्वास्थ्य कार्यक्रमअन्तर्गत समावेश गर्दै आएको स्वास्थ्य तथा कल्याण विभागकी प्रमुख निर्देशक सरला पौडेलले जानकारी दिइन् । उनका अनुसार विशेषगरी बालबालिकालाई सानै उमेरदेखि मुख तथा दाँतको उचित हेरचाह गर्ने बानीको विकास गराउनु आवश्यक छ ।

179d1660-71c5-44ed-93ba-609365289ae1.jpg
undefined

नियमितरूपमा दाँत माझ्ने, स्वस्थकर खानपान अपनाउने तथा समय–समयमा दन्त परीक्षण गराउने बानीले भविष्यमा देखा पर्नसक्ने विभिन्न दन्त समस्यालाई न्यूनीकरण गर्न सहयोग पुग्ने उनले बताइन् । शिविरमार्फत विद्यार्थीलाई दन्त स्वास्थ्यसम्बन्धी आवश्यक जानकारी तथा सचेतना पनि प्रदान गरिएको थियो । चितवन मेडिकल कलेजको डेन्टल विभागका प्रमुख डा. उपासना देवको नेतृत्वमा रहेको सात सदस्यीय चिकित्सक टोलीले दुई दिनसम्म विद्यार्थी तथा शिक्षक–कर्मचारीको दाँत र मुखको परीक्षण गरेको थियो । परीक्षणका क्रममा अधिकांश साना विद्यार्थीमा दाँत किराले खाने समस्या देखिएको छ ।

त्यस्तै ठूला विद्यार्थीहरूमा दाँत बाङ्गोटिङ्गो हुने तथा दाँतको उचित व्यवस्थापन आवश्यक पर्ने समस्या बढी देखिएको थियो । चिकित्सकका अनुसार चकलेट, बिस्कुट, मिठाइँ तथा अन्य बढी गुलिया र दाँतमा टाँसिने खानेकुराको अत्यधिक सेवन, मुख तथा दाँतको कमजोर सरसफाइ, फ्लोराइडको कमी र मुख सुख्खा हुनेलगायत कारणले दाँत किराले खाने समस्या देखा पर्न सक्छ । त्यसैले खानेकुरा खाएपछि मुख सफा गर्ने, दिनमा कम्तीमा दुई पटक सही तरिकाले दाँत माझ्ने तथा नियमित दन्त परीक्षण गराउने बानी अपनाउन चिकित्सक टोलीले सुझाव दिएको छ ।

दन्त परीक्षणपछि गम्भीर प्रकृतिका समस्या देखिएका आठ जना विद्यार्थी तथा थप परीक्षण वा उपचार आवश्यक रहेका करिब ५० जना विद्यार्थीलाई विशेषज्ञ उपचारका लागि रिफर गरिएको विद्यालयले जनाएको छ । विद्यालयले भविष्यमा पनि विद्यार्थीको शारीरिक, मानसिक तथा समग्र स्वास्थ्यलाई प्राथमिकतामा राख्दै यस्ता स्वास्थ्यसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij