चितवन : भरतपुर अस्पतालले प्रयोगशालाको नतिजा अनलाइनमार्फत् प्राप्त गर्ने प्रणाली विकास गरेको छ । अस्पतालको वेबसाइटमा गएर रिपोट हेर्न सकिने व्यवस्था गरिएको हो ।अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा विश्वबन्धु बगालेका अनुसार ‘ल्याब रिपोर्ट’मा क्लिक गरेपछि युजरनेम र पासवर्ड राख्ने विकल्प आउँछ, जुन उपचार शुल्क तिर्दा प्राप्त बिलमा नै उल्लेख गरिएको हुन्छ ।
सोही युजरनेम र पासवर्ड प्रयोग गरी बिरामीले आफ्नो प्रयोगशालाको नतिजा अनलाइनबाटै हेर्न र प्रिन्ट गर्न सक्ने उनले जानकारी दिए। यसैगरी अस्पतालमा जडान गरिएका दुई भेन्डिङ मेसिनबाट पनि बहिरङ्ग (ओपिडी) टिकट र प्रयोगशाला रिपोर्ट दुवै लिन मिल्ने व्यवस्था मिलाइएको उनको भनाइ छ ।
यसले बिरामीलाई काउन्टरमा लाइन बस्नुपर्ने झन्झटबाट मुक्ति दिने प्रमुख मेडिकल सुपरिटेण्डेण्ट बगाले जानकारी दिए। अस्पतालमा दैनिक तीन हजार ८०० बिरामी बहिरंग सेवाका लागि आउने गरेको तथ्याङ्क छ ।
सेवा सुविधामा भइरहेको सुधारसँगै बिरामीको चाप पनि उत्तिकै बढ्दै गएको डा बगालेले बताए। ६२० शय्या सञ्चालनमा रहेको भरतपुर अस्पतालमा चितवनसहित छिमेकी २५ जिल्लाका बिरामी उपचारका लागि आउने गर्छन् ।
स्वास्थ्य बीमामार्फत् सेवा दिनमा पनि यो अस्पताल अग्रणी मानिन्छ । सरकारले निजी अस्पताल र मेडिकल कलेजमा स्वास्थ्य बीमा सेवा बन्द गरेपछि बीमामार्फत् उपचार गराउन भरतपुर अस्पताल आउनेको सङ्ख्या क्रमशः बढ्दै गएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij