Logo

Aug 23 2026 | २०८३, भाद्र ७गते

भरतपुर अस्पतालमा ल्याब रिपोर्ट अब अनलाइनमै, भेन्डिङ मेसिनबाटै टिकट र रिपोर्ट

भरतपुर अस्पतालमा ल्याब रिपोर्ट अब अनलाइनमै, भेन्डिङ मेसिनबाटै टिकट र रिपोर्ट

चितवन । भरतपुर अस्पतालले बिरामीलाई प्रयोगशाला (ल्याब) रिपोर्ट अनलाइनमार्फत् हेर्न तथा प्रिन्ट गर्न सक्ने सुविधा सुरु गरेको छ। अस्पतालले सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउँदै बिरामीको सहजताका लागि यस्तो व्यवस्था गरेको हो।

अस्पतालको वेबसाइटमा रहेको ‘ल्याब रिपोर्ट’ विकल्पमा क्लिक गरेपछि युजरनेम र पासवर्ड राख्ने व्यवस्था गरिएको छ। उपचार शुल्क तिर्दा प्राप्त हुने बिलमै युजरनेम र पासवर्ड उल्लेख हुने र सोही विवरण प्रयोग गरी बिरामीले आफ्नो प्रयोगशाला रिपोर्ट अनलाइनबाटै हेर्न तथा प्रिन्ट गर्न सक्ने अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. विश्वबन्धु बगालेले जानकारी दिनुभयो।

यसैगरी अस्पताल परिसरमा जडान गरिएका दुई वटा भेन्डिङ मेसिनबाट बहिरंग सेवा (ओपिडी) को टिकट तथा प्रयोगशाला रिपोर्ट लिन सकिने व्यवस्था पनि गरिएको छ। यसबाट टिकट तथा रिपोर्ट लिन काउन्टरमा लामो समय लाइन बस्नुपर्ने बाध्यता हट्ने अस्पताल प्रशासनको विश्वास छ।

भरतपुर अस्पतालमा दैनिक दुई हजार पाँच सयदेखि तीन हजार आठ सयसम्म बिरामी बहिरंग सेवाका लागि आउने गरेका छन्। सेवा सुविधामा सुधार हुँदै गएसँगै अस्पतालमा बिरामीको चापसमेत बढ्दै गएको डा. बगालेले बताउनुभयो।

उहाँका अनुसार सरकारी अस्पतालमा सेवा सहज र प्रभावकारी हुँदै गएपछि निजी अस्पतालमा जाने केही बिरामीसमेत भरतपुर अस्पतालतर्फ आकर्षित भएका छन्। “हामीले सेवामा जति सुधार गर्दै गयौं, त्यति नै बिरामीको चाप थपिँदै गएको छ,” उहाँले भन्नुभयो।

६२० शय्या सञ्चालनमा रहेको भरतपुर अस्पतालमा चितवनसहित छिमेकी २५ जिल्लाबाट समेत बिरामी उपचारका लागि आउने गरेका छन्। स्वास्थ्य बीमामार्फत् सेवा प्रवाह गर्ने अस्पतालमध्ये भरतपुर अस्पताल अग्रणी मानिन्छ।

सरकारले निजी अस्पताल तथा मेडिकल कलेजमा स्वास्थ्य बीमा सेवा बन्द गरेपछि बीमामार्फत् उपचार गराउन भरतपुर अस्पताल आउने बिरामीको संख्या क्रमशः बढ्दै गएको अस्पताल प्रशासनले जनाएको छ।

नयाँ प्रविधिको प्रयोगसँगै ल्याब रिपोर्ट अनलाइनबाटै प्राप्त गर्ने र भेन्डिङ मेसिनमार्फत् टिकट तथा रिपोर्ट लिन सकिने सुविधाले बिरामीको समय बचत हुनुका साथै अस्पतालको सेवा प्रवाह थप सहज हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij