नयाँदिल्ली : भारतको राजधानी नयाँदिल्लीमा स्वाइन फ्लू अर्थात् एच१एन१ संक्रमण तीव्र रूपमा फैलिन थालेको छ । यस वर्ष हालसम्म दिल्लीमा एच१एन१ संक्रमण पुष्टि हुनेको संख्या १ हजार ७७७ पुगेको छ । पछिल्लो एकै दिनमा मात्रै ११४ नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य अधिकारीका अनुसार अगस्ट ६ सम्म दिल्लीमा एच१एन१ का १ हजार ३४४ मामला थिए । त्यसपछि केवल १४ दिनमा ४३३ नयाँ संक्रमित थपिएका हुन् । गत वर्ष यही अवधिमा २२९ जना मात्रै संक्रमित भएका थिए । यस हिसाबले गत वर्षको तुलनामा यस वर्ष संक्रमितको संख्या करिब आठ गुणा बढेको छ ।
संक्रमण बढेपछि दिल्ली सरकारले स्वास्थ्य सेवासम्बन्धी तयारी तीव्र पारेको छ । शुक्रबार केन्द्रीय स्वास्थ्यमन्त्री जेपी नड्डा, स्वास्थ्य मन्त्रालयका वरिष्ठ अधिकारी, दिल्लीका स्वास्थ्यमन्त्री पंकज कुमार सिंह तथा स्वास्थ्य विभागका अधिकारीबीच बैठक बसेर स्वाइन फ्लूको अवस्थाबारे समीक्षा गरिएको थियो ।
दिल्लीका स्वास्थ्यमन्त्री सिंहले संक्रमणको अवस्थामाथि निरन्तर निगरानी भइरहेको बताउँदै सरकारी अस्पतालहरूलाई पर्याप्त उपचार व्यवस्था मिलाउन निर्देशन दिइएको जानकारी दिएका छन् । संक्रमणको ढाँचा, प्रभावित क्षेत्र तथा सम्भावित ‘हटस्पट’ पहिचान गर्न निगरानी बढाइएको छ । स्वाइन फ्लूका बिरामीका लागि अस्पतालहरूमा छुट्टै वार्डको व्यवस्था पनि गर्न थालिएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij