काठमाडौं : प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले कालो चस्मा लगाउनुपर्ने कारण खुलाउँदै स्वास्थ्य परीक्षण रिपोर्टसहितको पत्र संघीय संसद् सचिवालयमा पठाएका छन्। सभामुख डोलप्रसाद अर्यालले प्रमुख सचेतक र सचेतकमार्फत सांसदहरूलाई कालो चस्मा लगाएर बैठकमा उपस्थित नहुन आग्रह गरेका थिए। कालो चस्मा लगाउनुपर्ने अवस्था भए स्वास्थ्य परीक्षणको रिपोर्टसहित कारण खुलाउन सभामुखले आग्रह गरेका थिए।
सभामुखको उक्त आग्रहपछि प्रधानमन्त्री शाहले आफूले कालो चस्मा लगाउनुपर्ने कारण खुलाउँदै संघीय संसद् सचिवालयलाई पत्र पठाएका हुन् । उनले आँखामा समस्या भएका कारण उज्यालोमा हेर्न असहज हुने र त्यसका लागि कालो चस्मा प्रयोग गर्नुपरेको बताएका छन्। प्रधानमन्त्री शाहले गत साउन २२ गते नेपाली सेनाको छाउनीस्थित सैनिक अस्पतालमा आँखाको परीक्षण गराएका थिए। उनको आँखाको परीक्षण लेफ्टिनेन्ट कर्णेल डा. सचित ढकालले गरेका थिए।
स्वास्थ्य परीक्षण रिपोर्टअनुसार प्रधानमन्त्रीलाई उज्यालोमा हेर्न कठिन हुने तथा आँखा सुक्खा हुने समस्या देखिएको छ। रिपोर्टमा आवश्यकताअनुसार नियमित रूपमा आइड्रप प्रयोग गर्नुपर्ने उल्लेख छ। यसैबीच प्रधानमन्त्री शाह बुधबार प्रतिनिधि सभा बैठकमा कालो चस्मा लगाएरै उपस्थित हुने भएका छन्। प्रधानमन्त्री शाह दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा सहभागी हुनेछन्, जहाँ सांसदहरूसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुनेछ।
प्रतिनिधिसभा नियमावलीको नियम ५६ मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमसम्बन्धी व्यवस्था गरिएको छ। सोही व्यवस्थाअनुसार बुधबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुँदैछ। नियमावलीको दफा ५८ अनुसार प्रधानमन्त्रीलाई प्रश्न गर्न इच्छुक सांसदले प्रश्नको विषयसम्बन्धी लिखित जानकारी बैठक सुरु हुनुभन्दा कम्तीमा तीन दिनअघि सभामुखलाई दिनुपर्ने व्यवस्था छ।
सोहीअनुसार सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्रीलाई प्रश्न गर्न इच्छुक सांसदलाई भदौ ५ गतेभित्र प्रश्न दर्ता गराउन समय दिएका थिए। निर्धारित समयभित्र ११ जना सांसदले प्रश्न दर्ता गराएका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij