Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

भोटेकोसी बाढीको प्रभाव : भदौ १३ देखि हुने सबै विश्वविद्यालयका परीक्षा स्थगित

भोटेकोसी बाढीको प्रभाव : भदौ १३ देखि हुने सबै विश्वविद्यालयका परीक्षा स्थगित

काठमाडौं : प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएपछि सरकारले भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । शिक्षा तथा खेलकुद मन्त्रालयले वर्तमान विषम परिस्थितिलाई मध्यनजर गर्दै भदौ १३ गतेदेखि विश्वविद्यालयअन्तर्गत सञ्चालन हुने सबै परीक्षा स्थगित गर्न सम्बन्धित विश्वविद्यालयका उपकुलपतिहरूलाई निर्देशन दिएको हो । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विद्यमान विश्वविद्यालयसम्बन्धी ऐनबाट प्राप्त अधिकार प्रयोग गर्दै परीक्षा स्थगित गर्ने निर्णय गरिएको जानकारी दिएका छन्।

मन्त्रालयका अनुसार भदौ १२ गतेका लागि निर्धारित परीक्षामा विभिन्न कारणले सहभागी हुन नसकेका परीक्षार्थीका लागि समेत उपयुक्त समयमा परीक्षा सञ्चालनको व्यवस्था गर्न विश्वविद्यालयहरूलाई निर्देशन दिइएको छ।

स्थगित परीक्षाको संशोधित तालिका भने परिस्थिति अनुकूल भएपछि विश्वविद्यालयहरूले उपयुक्त समयमा सार्वजनिक गर्नुपर्नेछ। मन्त्रालयले परीक्षा स्थगनसँगै विश्वविद्यालय तथा सम्बन्धित शैक्षिक संस्थालाई अत्यावश्यकबाहेकका भेला, गोष्ठी, सेमिनार, सभा तथा अन्य सामूहिक कार्यक्रम स्थगित गर्न पनि निर्देशन दिएको छ। विपद्बाट प्रभावित विद्यार्थी तथा अभिभावकसँग विश्वविद्यालय र सम्बन्धित शैक्षिक संस्थामार्फत निरन्तर सम्पर्क, समन्वय तथा आवश्यक सहयोग र सहजीकरण गर्न मन्त्रालयले आग्रह गरेको छ।

त्यस्तै, प्रभावित विद्यार्थी तथा आवश्यकताअनुसार अभिभावकका लागि मनोसामाजिक परामर्शको व्यवस्था गर्न र विपद्का कारण अध्ययनमा परेको असरलाई ध्यानमा राख्दै विद्यार्थीको शैक्षिक निरन्तरता सुनिश्चित गर्न आवश्यक व्यवस्था मिलाउन निर्देशन दिइएको छ। मन्त्रालयले वर्तमान संवेदनशील परिस्थितिमा विश्वविद्यालय परिवारका विद्यार्थी, अभिभावक, शिक्षक तथा कर्मचारीको सुरक्षा र हितलाई सर्वोच्च प्राथमिकता दिन सम्बन्धित विश्वविद्यालयलाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट