ब्रसेल्स : युरोपेली संघ (ईयू) औपचारिक रूपमा इरानमाथि अमेरिकाले अघि बढाएको प्रतिबन्ध अभियानमा सामेल भएको छ । अमेरिकाले आफ्नो सहयोगी देशहरूलाई इरानमाथिको युद्ध वित्तीय र सैन्य दुबैतिरबाट चर्काउन दबाब दिइरहेको बेलामा ईयूले यो निर्णय गरेको हो ।
अमेरिकी अर्थमन्त्री स्कट बेसन्टले ईयूले अमेरिकी नेतृत्वको अपरेसन इकोनोमिक आउटकास्टमा साथ दिने यस निर्णयको स्वागत गरेका छन् । इरानलाई विश्वव्यापी वित्तीय प्रणालीबाट अरु एक्लो बनाउन अमेरिकाले यो अभियान चलाएको हो ।
विश्वले इरानी शासनलाई स्पष्ट सन्देश दिइरहेको र इरानको बाँकी वित्तीय स्रोतसमेत बन्द नगरेसम्म दबाब जारी रहने बेसन्टले सामाजिक सञ्जालमार्फत बताए । ईयूले अगस्ट ३१ मा विज्ञप्ति जारी गर्दै इरानका अस्थिर गतिविधि रोक्न तथा शान्ति वार्ता पुनः सुरु गर्न गरिने प्रयासलाई समर्थन गर्ने जनाएको थियो । त्यसअन्तर्गत इरानमाथि थप आर्थिक दबाब सिर्जना गर्ने अमेरिकी अभियानलाई पनि समर्थन गरिएको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले अगस्टको अन्त्यतिर सुरु गरेको अपरेसन इकोनोमिक आउटकास्ट शुरु गरेको थियो । यस अभियानमा इरानको डिजिटल सम्पत्ति, उन्नत प्रविधि खरिद, सुनको भण्डार, व्यावसायिक उड्डयन तथा समुद्री यातायातमा पहुँचलाई लक्षित गरिएको छ । अमेरिकी अर्थमन्त्री बेसन्टले इरानले आणविक महत्वाकांक्षा, हतियार कार्यक्रम तथा आतंकवादी समूहलाई आर्थिक सहयोग गर्न विश्वव्यापी वित्तीय प्रणालीको प्रयोग गर्न नपाओस् भन्ने उद्देश्यले अमेरिकाले आफ्ना सहयोगी राष्ट्रसँग मिलेर काम गरिरहेको बताएका छन् ।
इरानले भने ईयूको यस निर्णयको विरोध गरेको छ । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले अमेरिकी दबाबमा ईयूले आफ्नो सार्वभौमिकता, कानुन, नियम तथा मूल्य–मान्यता त्यागेको आरोप लगाएका छन् । उनले अमेरिकाको अभियानलाई आर्थिक आतंकवादको संज्ञासमेत दिएका छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij