काठमाडौं : गत भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङलगायत जिल्लाका विशेषगरी ग्रामीण समुदायमा गम्भीर क्षति पुर्याएको छ।संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ) का अनुसार बाढीले करिब एक हजार ८०० हेक्टर कृषियोग्य जमिन (विशेषगरी धानबाली) नष्ट गरेको छ भने हजारौँ पशुपन्छी मरेका छन्।
एफएओकी उपमहानिर्देशक बेथ बेचडोलले बाढीले किसान र पशुपालकहरूमा पारेको प्रभाव, तत्काल आवश्यक कृषि सहायता र आगामी खेतीको यामअगावै उत्पादन पुनर्स्थापना गर्नुपर्ने आवश्यकताका विषयमा आफ्नो धारणा व्यक्त गरेकी हुन् । एफएओको प्रारम्भिक मूल्याङ्कनअनुसार कृषियोग्य जमिन, माछापोखरी, खाद्य भण्डार तथा कृषि पूर्वाधारमा पुगेको क्षतिले प्रभावित क्षेत्रका किसान परिवारको खाद्य सुरक्षा र आम्दानीमा दीर्घकालीन असर पर्ने चिन्ता बढाएको छ।
बाढीपश्चात् नेपाल सरकारले गरिरहेको राहत तथा उद्धार कार्यमा सहयोग गर्दै एफएओले आपत्कालीन पशु स्वास्थ्य सेवा सञ्चालन तथा कृषि र ग्रामीण जीविकोपार्जनमा परेको क्षतिको मूल्याङ्कनलगायतका कार्य अघि बढाइरहेको छ।
एफएओकी उपमहानिर्देशक बेथले हालैको बाढीले मानवीय रूपमा अत्यन्त पीडादायी क्षति पुर्याएको बताइन्। उनले भनिन्, ‘एक हजारभन्दा बढी मानिसले ज्यान गुमाएका छन्, हजारौँ अझै बेपत्ता छन् र सम्पूर्ण समुदाय नराम्ररी प्रभावित भएका छन्।’
बाढीले घर र भौतिक संरचना मात्र नष्ट नगरी धेरै परिवारको खाद्य उत्पादन र आम्दानीको मुख्य स्रोतसमेत समाप्त गरिदिएको उनले उल्लेख गरिन्। खेतहरू माटो र गेग्रानले पुरिएका छन्, माछापोखरी बगेका छन्। सडक, पुल तथा बजारमा क्षति पुगेका कारण खाद्यान्न, पशु आहारा, दूध तथा कृषि सामग्रीको आपूर्ति पूर्ण रूपमा अवरुद्ध भएको उनले बताइन्।
एफएओको प्रारम्भिक मूल्याङ्कनअनुसार करिब एक हजार ८०० हेक्टर खेतीयोग्य जमिनमा क्षति पुगेको छ, जसबाट झन्डै सात हजार ७०० मेट्रिक टन कृषि उत्पादन गुम्ने अनुमान छ। किसान परिवारका लागि यसले वर्तमान बाली मात्र गुमाएको होइन, आगामी उत्पादन र आम्दानीका अवसरसमेत सङ्कटमा पारेको एफएओले जनाएको छ।
प्रभावित क्षेत्र नेपालका महत्त्वपूर्ण पशुपालन केन्द्रमध्ये एक हो। प्रभावित ११ वटा पालिकामा बाढीअघि करिब तीन लाख ५० हजार गाईभैँसी, भेडा र बाख्रा तथा १६ लाखभन्दा बढी कुखुरा थिए।
उपमहानिर्देशक बेथका अनुसार हजारौँ पशुपन्छी हराएका वा मरेका छन् भने समग्र पशुधन र कुखुराको सङ्ख्यामा ५ देखि १० प्रतिशतसम्म पूर्ण रूपमा क्षति भएको हुन सक्ने अनुमान गरिएको छ।
‘किसान परिवारका लागि एउटा पशु गुमाउनु भनेको तत्कालको खाद्य स्रोत गुमाउनु मात्र होइन, भविष्यको आम्दानी र उत्पादनको आधार पनि गुमाउनु हो,’ उनले भनिन्।
हाल प्रभावित किसानलाई तत्काल बीउबिजन आवश्यक रहेको एफएओले जनाएको छ। पशुधनका लागि पशु आहारा र पशु स्वास्थ्य सेवा पनि उत्तिकै महत्त्वपूर्ण रहेको भन्दै उनले बाढीपछि पशुमा रोग फैलिने जोखिम उच्च हुने भएकाले खोप, उपचार र रोग निगरानीमा विशेष ध्यान दिनुपर्ने बताइन्।
एफएओले नेपाल सरकारसँग मिलेर बाली, पशुधन, मत्स्य क्षेत्र, कृषियोग्य जमिन तथा कृषि पूर्वाधारमा पुगेको वास्तविक क्षतिको विस्तृत अध्ययन गरिरहेको छ। यसका लागि स्थलगत अवलोकनका साथै उपग्रह तथा ‘रिमोट सेन्सिङ’ प्रविधिको समेत प्रयोग गरिँदै छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij