चितवन : नेपाली कांग्रेस कालिका नगर सभापतिका लागि युवा नेता सरोज गुरुङले औपचारिक रूपमा उम्मेदवारी घोषणा गरेका छन्। सरल, निडर र स्पष्ट स्वभावका रूपमा चिनिने गुरुङ लामो समयदेखि पार्टी संगठन र सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएका छन्।
टोल तहदेखि वडा स्तरसम्म संगठन विस्तारमा निरन्तर खटिँदै आएका गुरुङले विभिन्न सामाजिक संस्थाको नेतृत्वसमेत सम्हालिसकेका छन्। सक्रिय संगठनात्मक भूमिका, सामाजिक सेवामा सहभागिता र विविध समुदायसँगको सहकार्यका कारण उनी युवा पुस्तामाझ लोकप्रिय छन्।
गुरुङले आफूलाई समावेशी नेतृत्वको पक्षधरका रूपमा प्रस्तुत गर्दै जनजाति समुदाय मात्र नभई सबै वर्ग, समुदाय र क्षेत्रका नागरिकसँग सुदृढ सम्बन्ध बनाएको बताएका छन्। कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै उनले युवा सहभागिता वृद्धि, टोलस्तरमै संगठन सुदृढीकरण, सामाजिक सेवामा पार्टीको प्रभावकारी भूमिका र समुन्नत कालिका निर्माणलाई आफ्नो मुख्य एजेन्डा बनाएका छन्।
“युवाको आवाज बुझ्ने, गरिब तथा विपन्न नागरिकका समस्या नजिकबाट महसुस गर्ने र सबैलाई साथमा लिएर अघि बढ्ने नेतृत्व आजको आवश्यकता हो,” गुरुङले बताएका छन्।उनले आफ्नो उम्मेदवारीलाई कांग्रेसलाई थप गतिशील बनाउने, जनताको सुख–दुःखमा साथ दिने र युवालाई नेतृत्वको मूलधारमा ल्याउने अभियानका रूपमा अघि बढाएका छन्।
गुरुङको उम्मेदवारी घोषणासँगै कालिका नगर कांग्रेसमा युवा नेतृत्व र संगठन सुदृढीकरणबारे बहस अझ तातिएको छ।