चितवन : गणेशधाममा पिउने पानीको सुविधा थप गर्नुका साथै पुरानो मौलिकता झल्काउने उद्देश्यले निर्माण गरिएको पौराणिक शैलीको तीन ढुंगेधारा गणेश चतुर्थीको अवसरमा गणेशधामलाई हस्तान्तरण गरिएको छ।
गणेश स्थानमा खानेपानीको अभावलाई पूर्ति गर्ने उद्देश्यले करिब चार दशकअघि सुरु भएको सेवाको निरन्तरताका रूपमा नयाँ तीन ढुंगेधारा निर्माण गरिएको हो। तत्कालीन समयमा व्यवसायी प्रेमकुमार पियाले आफ्ना स्वर्गीय बुबाआमाको सम्झनामा रेयुकाइ क्लबमार्फत सिमेन्टको ट्यांकीसहित धारा निर्माण गराउनुभएको थियो।
वि.सं. २०४३ सालमा निर्माण गरिएको उक्त संरचनाले लामो समयसम्म गणेश स्थानमा आउने भक्तजन तथा स्थानीयलाई पिउने पानीको सुविधा उपलब्ध गराएको थियो। समयसँगै पुरानो ट्यांकी जीर्ण भएपछि वि.सं. २०७० सालदेखि अन्य खानेपानी ट्यांकीमार्फत पानीको व्यवस्थापन हुँदै आएको थियो।
पुरानो संरचनाको स्थानमा धार्मिक तथा सांस्कृतिक महत्वलाई समेत झल्काउने गरी पौराणिक शैलीको खानेपानी स्थल निर्माण गर्ने प्रतिबद्धता प्रेमकुमार पियाले व्यक्त गर्दै आउनुभएको थियो। सोही प्रतिबद्धतालाई मूर्तरूप दिँदै उहाँका छोरा, व्यवसायी तथा समाजसेवी राजन पियाको सक्रियतामा पारिवारिक पहलबाट तीन ढुंगेधारा निर्माण सम्पन्न गरिएको हो।
बन्दीपुरको मौलिक वास्तुशैलीको झझल्को दिने गरी निर्माण गरिएको तीन ढुंगेधारा गणेश चतुर्थीको शुभ अवसरमा आयोजित एक कार्यक्रमबीच गणेशधामका अध्यक्ष राजनकुमार श्रेष्ठलाई हस्तान्तरण गरिएको हो।
धारा हस्तान्तरण कार्यक्रममा गणेशधामका संरक्षक विजय सुवेदी, निवर्तमान अध्यक्ष दिनेशकुमार चुके, वरिष्ठ उपाध्यक्ष रविन्द्र बराल, महासचिव नवराज ढकाल, सचिव वेदराज न्यौपाने, कार्यसमिति सदस्यहरू, कर्मचारी तथा भक्तजनहरूको उपस्थिति रहेको थियो।
तीन ढुंगेधारा निर्माण भएपछि गणेशधाममा आउने भक्तजन तथा आगन्तुकका लागि पिउने पानीको सहज सुविधा थपिएको छ। साथै, परम्परागत नेपाली शैलीमा निर्माण गरिएकाले यसले गणेशधामको धार्मिक वातावरण र सौन्दर्यलाई समेत थप आकर्षक बनाएको छ।
दशकौँअघि सुरु भएको सेवाको स्मरण गर्दै नयाँ पुस्ताले त्यसलाई थप व्यवस्थित र मौलिक स्वरूपमा निरन्तरता दिनु सामाजिक सेवासँगै संस्कृति र सम्पदा संरक्षणको उदाहरण बनेको छ। परिवारको तर्फबाट गरिएको यस पहलले गणेशधाममा आउने भक्तजनका लागि सुविधा थप्नुका साथै भावी पुस्तालाई समेत मौलिक नेपाली शैली र सामाजिक सेवाको महत्व सम्झाउने अपेक्षा गरिएको छ
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij