चितवन : उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान), चितवनले कक्षा ११ र १२ को शुल्क निर्धारण तथा समायोजन प्रक्रिया अघि बढाउन भरतपुर महानगरपालिकालाई आग्रह गरेको छ ।
हिसान चितवनले शनिबार अपिल जारी गर्दै शैक्षिक सत्र २०८३/०८४ का लागि कक्षा नर्सरीदेखि १० सम्मको शुल्क समायोजन तथा निर्धारण प्रक्रिया अघि बढिसकेको भए पनि कक्षा ११ र १२ को शुल्क निर्धारणमा अझै अन्योल कायम रहेको जनाएको हो ।
संस्थागत विद्यालय सञ्चालनका क्रममा शिक्षक तथा कर्मचारीको पारिश्रमिक, शैक्षिक सामग्री, भौतिक पूर्वाधारको मर्मत तथा स्तरोन्नति, प्रविधिको प्रयोग र प्रयोगशाला व्यवस्थापनलगायतका खर्च निरन्तर बढ्दै गएको हिसानको भनाइ छ । यस्तो अवस्थामा शुल्क निर्धारणलाई केवल शुल्क वृद्धिको विषयका रूपमा मात्र नहेरी विद्यालयको वास्तविक सञ्चालन लागत, शिक्षक तथा कर्मचारीको न्यायोचित पारिश्रमिक, अभिभावकको आर्थिक अवस्था र विद्यार्थीले प्राप्त गर्ने शैक्षिक सेवाको गुणस्तरलाई सन्तुलित रूपमा सम्बोधन गर्नुपर्ने उसले जनाएको छ ।
हिसानका अनुसार नेपाल सरकारले आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत शिक्षक तथा कर्मचारीको पारिश्रमिकमा २१ प्रतिशत वृद्धि गर्नुका साथै महँगी भत्ता पनि बढाएकाले संस्थागत विद्यालयमाथि थप आर्थिक दायित्व सिर्जना भएको छ ।
शुल्क निर्धारणको विषयलाई तथ्य, औचित्य र प्रचलित कानुनी व्यवस्थाका आधारमा सम्बन्धित सबै पक्षबीच छलफल तथा संवाद गरी सहमतिमा टुंग्याउनुपर्ने हिसानको धारणा छ । शुल्क निर्धारणका विषयमा यसअघि नै छलफल भई निर्णय भइसकेको अवस्थामा शुल्क वृद्धि फिर्ताको माग गर्नु उचित नहुनेसमेत हिसान चितवनले जनाएको छ ।
हिसानले विद्यालयको सञ्चालन खर्च, शिक्षक तथा कर्मचारीको पारिश्रमिक र अभिभावकको आर्थिक अवस्थाबीच सन्तुलन कायम हुने गरी कक्षा ११ र १२ को शुल्क निर्धारण प्रक्रिया अघि बढाउन महानगरपालिकाको ध्यानाकर्षण गराएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij