पाल्पा : पाल्पामा पछिल्लो १० वर्षमा विपद्जन्य घटनामा परी १०२ जनाको मृत्यु भएको छ।जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेका अनुसार २०७४ साउनदेखि गत असारसम्म ९७ जनाको मृत्यु भएको थियो।
गत महिनाको बाढीपहिरो र वर्षाका कारण थप पाँच जनाको ज्यान गएको उनले जानकारी दिए। यस अवधिमा ३५८ जना घाइते हुनुका साथै पाँच जना बेपत्ता भएका छन्।
गत असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षा, बाढी र पहिरोले जिल्लामा ठूलो भौतिक तथा आर्थिक क्षति पुर्याएको प्रजिअ पाण्डेले बताए।
उनका अनुसार प्रारम्भिक विवरणअनुसार सडक, सिँचाइ, तटबन्ध, खानेपानी, कृषि तथा पशुपन्छी क्षेत्रमा गरी करिब ३७ करोड ७५ लाख ३६ हजार ६९२ बराबरको क्षति भएको छ।
प्राकृतिक विपद्को प्रहार कृषि, पशुपन्छी, सडक, सिँचाइ, तटबन्ध र खानेपानीका संरचनासम्म पुगेको छ। कृषि बालीमा मात्रै करिब एक करोड ५० लाख र पशुपन्छी तथा मत्स्य क्षेत्रमा ४५ लाख ७५ हजार बराबरको क्षति भएको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका अनुसार बगनासकाली गाउँपालिकामा सबैभन्दा बढी २७ लाख ७० हजार, तानसेन नगरपालिकामा १० लाख ८५ हजार र माथागढी गाउँपालिकामा रु सात लाख २० हजार बराबरको क्षति भएको छ।
बाढीपहिरोले १२९ घर तथा संरचनामा क्षति पुर्याएको छ भने ७० वटा खानेपानी आयोजनामा असर परेको छ। खानेपानी संरचना मर्मतका लागि दुई करोड ४० लाख आवश्यक पर्ने खानेपानी तथा सरसफाइ कार्यालयले जनाएको छ।
यस्तै, १४ वटा सिँचाइ आयोजनाको पुनःनिर्माणका लागि तीन करोड ९५ लाख र माडीफाँटमा तटबन्ध निर्माणका लागि आठ करोड ८६ लाख रुपैयाँभन्दा बढी आवश्यक देखिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij