चितवन : बागमती प्रदेश सरकारले जिल्लाको माडी नगरपालिकास्थित बघौडा अस्पतालको स्वास्थ्य सेवा थप प्रभावकारी र गुणस्तरीय बनाउने उद्देश्यले आधुनिक स्वास्थ्य उपकरण तथा महत्त्वपूर्ण औषधि उपलब्ध गराएको छ ।बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङ (ज्ञानुजङ्ग लामा)ले सोमबार एक कार्यक्रमबीच अस्पतालका लागि भिडियो एक्सरे मेसिन, अटोक्लेभ, एक्सरेलगायत आधुनिक स्वास्थ्य उपकरण तथा आवश्यक औषधि हस्तान्तरण गरेका हुन् ।
गत कात्तिक १३ गते बघौडा अस्पतालको निरीक्षणका क्रममा अस्पतालले भोगिरहेका स्वास्थ्य उपकरण तथा औषधिको अभावबारे जानकारी लिएपछि मन्त्री तामाङले तत्काल आवश्यक सामग्री उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए ।सो अवसरमा मन्त्री तामाङले अस्पतालमा भिडियो एक्सरे, एक्सरे तथा अटोक्लेभजस्ता उपकरण उपलब्ध भएपछि बिरामीको परीक्षण, रोग पहिचान तथा उपचारमा थप सहजता हुने बताए ।
विशेषगरी सामान्य स्वास्थ्य परीक्षण तथा उपचारका लागि भरतपुर धाउनुपर्ने स्थानीयवासीको बाध्यता कम गर्न यी उपकरण उपयोगी हुने उनले विश्वास व्यक्त गरे ।हस्तान्तरण कार्यक्रममा स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक वसन्त अधिकारी, स्वास्थ्य निर्देशनालयका निर्देशक नरेन्द्रकुमार झालगायतको उपस्थिति रहेको थियो । माडी चितवन राष्ट्रिय निकुञ्ज हुँदै जानुपर्ने नगरपालिका हो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij