Logo

Nov 18 2026 | २०८३, मंसिर ३गते

‘लामो तयारी चाहिँदैन, अवस्था आए तत्काल आन्दोलन हुन्छ’ : ओली

‘लामो तयारी चाहिँदैन, अवस्था आए तत्काल आन्दोलन हुन्छ’ : ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारविरुद्ध जुनसुकै बेला आन्दोलन गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै नेता तथा कार्यकर्तालाई तयारी अवस्थामा रहन निर्देशन दिएका छन्।मंगलबार काठमाडौंमा अखिल नेपाल किसान महासंघको केन्द्रीय कमिटीको विस्तारित बैठकलाई सम्बोधन गर्दै ओलीले आन्दोलनका लागि लामो समय तयारी गर्नैपर्छ भन्ने नहुने भन्दै असह्य अवस्था आए तत्कालै आन्दोलनमा उत्रिनुपर्ने बताए।उनले आन्दोलनको मानसिकताका साथ तयार रहन नेता तथा कार्यकर्तालाई निर्देशन दिए। अहिलेको परिस्थितिमा पार्टीका नेता तथा कार्यकर्ता आत्मविश्वास र मनोबलका साथ अघि बढ्नुपर्ने उनको भनाइ थियो।

‘आन्दोलन सधैँ लामो तयारी गरेर मात्रै हुने होइन। असह्य भएपछि तत्कालै आन्दोलन हुन सक्छ। त्यसैले जुनसुकै बेला पनि आन्दोलन गर्नुपर्ने अवस्था आउन सक्छ भन्ने मानसिकताका साथ तयार रहनुपर्छ,’ ओलीले भने।उनले आफूहरूलाई आतंकपूर्ण वातावरण र विभिन्न गतिविधिमार्फत पछाडि धकेल्ने प्रयास भइरहेको आरोप लगाए। तर त्यस्तो आतंक सधैँ कायम नरहने भन्दै उनले आत्मविश्वास र मनोबलका साथ अघि बढ्न कार्यकर्तालाई आग्रह गरे।ओलीले चुनावका माध्यमबाट पार्टी निर्माण गर्न खोज्नेहरूका विरुद्ध पार्टीलाई बलियो बनाएर आगामी निर्वाचनमा जानुपर्ने बताए। निर्वाचनमा एमालेको शक्ति स्थापित गर्ने गरी जनतामाझ जानुपर्ने उनको भनाइ थियो।

अदालतप्रति ओलीको असन्तुष्टि

सम्बोधनका क्रममा ओलीले सर्वोच्च अदालतको व्याख्या र आदेशप्रति पनि असन्तुष्टि व्यक्त गरे।उनले अन्य विषयमा हतारिएर फैसला गर्ने अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा भने अहिलेसम्म फैसला गर्न नसकेको टिप्पणी गरे।समयमै न्याय नपाउनु र ढिलो न्याय पाउनु उस्तै भएको उनको भनाइ थियो। यद्यपि अदालतका विषयमा धेरै टिप्पणी नगर्ने उनले बताए। अदालतबारे धेरै बोल्दा आफूमाथि थप मानहानिको मुद्दा लाग्न सक्ने भन्दै उनले व्यंग्यसमेत गरे।प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दा एमाले अध्यक्ष ओलीले यसअघि पनि राजनीतिक अभिव्यक्तिमा उठाउँदै आएका छन्। पार्टीको केन्द्रीय कमिटीबाट पारित राजनीतिक प्रतिवेदनमा समेत प्रतिनिधिसभा पुनःस्थापनाको मागसहित सर्वोच्चमा दिएको मुद्दा विचाराधीन रहेको र न्यायमा ढिलाइ भइरहेको उल्लेख गरिएको थियो।

आन्दोलनको तयारीबारे ओलीको निरन्तर निर्देशन

ओलीले यसअघि पनि पार्टीका विभिन्न कार्यक्रममा सरकारविरुद्ध आन्दोलनका लागि तयार रहन नेता तथा कार्यकर्तालाई निर्देशन दिँदै आएका छन्।गत कात्तिक ११ गते पार्टी केन्द्रीय कार्यालय च्यासलमा मनोनीत केन्द्रीय सदस्यहरूको शपथग्रहण कार्यक्रममा उनले देश गम्भीर अवस्थामा रहेको भन्दै देशको रक्षाका लागि आन्दोलनको विकल्प नरहेको बताएका थिए।त्यतिबेला उनले सरकार फाँसीवादतर्फ अघि बढिरहेको आरोप लगाउँदै तत्काल, तिहारपछि वा छठपछि जुनसुकै बेला आन्दोलन हुन सक्ने भन्दै तयारी अवस्थामा रहन निर्देशन दिएका थिए।त्यस्तै, आन्दोलनबाटै राजनीतिक शक्ति आर्जन गर्न सकिने र पार्टीलाई अघि बढाउन सकिने उनको तर्क थियो। उनले आन्दोलनलाई पार्टीको राजनीतिक शक्ति विस्तार र आगामी निर्वाचनसँग पनि जोडेका थिए।

ओलीको आन्दोलनसम्बन्धी अभिव्यक्ति एमालेको केन्द्रीय कमिटीबाट पारित राजनीतिक कार्यदिशासँग पनि जोडिएको छ। असोज पहिलो साता ललितपुरको भनिमण्डलमा बसेको केन्द्रीय कमिटी बैठकले ओलीको ८८ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पारित गरेको थियो। उक्त प्रतिवेदनमा लोकतन्त्रको पुनर्बहालीका लागि निर्णायक आन्दोलनको तयारी गर्नुपर्ने उल्लेख छ।तर आन्दोलनको स्वरूप र उद्देश्यबारे एमालेभित्रै फरक मतसमेत देखिएको थियो। त्यतिबेला उपाध्यक्षहरू पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट र रघुजी पन्त तथा उपमहासचिव योगेश भट्टराईसहितका नेताहरूले चुनावी परिणाम अस्वीकार गर्ने वा प्रतिनिधिसभा पुनःस्थापनालाई आन्दोलनको एजेन्डा बनाउने विषयमा असहमति जनाएका थिए।

उनीहरूले भ्रष्टाचार, जनजीविका र नागरिकका मुद्दामा आन्दोलन गर्न सकिने भए पनि निर्वाचनको परिणाम उल्ट्याउने उद्देश्यले आन्दोलनमा जानु उचित नहुने धारणा राखेका थिए।ओलीले भने पार्टीलाई थप सशक्त बनाएर जनताको घरदैलोमा पुग्नुपर्नेमा जोड दिँदै आएका छन्। किसान तथा आम नागरिकसँग संवाद गर्ने, जनताका समस्या बुझ्ने र पार्टी संगठन विस्तार गर्ने काममा जुट्न उनले नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्।उनले एमालेले आगामी दिनमा देशको निर्णायक राजनीतिक तथा लोकतान्त्रिक शक्तिका रूपमा आफूलाई स्थापित गर्नुपर्ने पनि बताए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij