हेटौँडा : अपांगता भएका व्यक्तिहरूको क्षमता अभिवृद्धि, संस्थागत विकास तथा उनीहरूको अधिकार सुनिश्चित गर्ने उद्देश्यले आयोजित प्रदेशस्तरीय सिकाइ तथा अनुभव आदानप्रदान कार्यक्रम मकवानपुरको हेटौँडामा सम्पन्न भएको छ। नेपाल अपांग महासंघको आयोजनामा भएको एकदिने कार्यक्रममा अपांगता भएका व्यक्तिहरूका संघसंस्था तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो। कार्यक्रममा अपांगता भएका व्यक्तिहरूको क्षेत्रमा भएका उपलब्धि, कार्यान्वयनका क्रममा प्राप्त अनुभव, चुनौती तथा आगामी कार्यदिशाबारे छलफल र अनुभव आदानप्रदान गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि वागमती प्रदेश सरकारका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङ (ज्ञानुजङ्ग लामा) ले शारीरिक अपांगता भएका व्यक्तिहरूको क्षमता अभिवृद्धि तथा अभिमुखीकरणका क्षेत्रमा नेपाल अपांग महासंघले वागमती प्रदेशमा गर्दै आएको कामको प्रशंसा गरे। कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री तामाङले अपांगता भएका व्यक्तिहरूको वास्तविक अवस्था पहिचान गरी उनीहरूलाई आवश्यक सहयोग र सेवा उपलब्ध गराउन प्रदेश सरकारले प्राथमिकता दिनुपर्ने बताए। उनले अपांगता भएका व्यक्तिहरूको वर्गीकृत तथ्यांक संकलनलाई प्रभावकारी बनाउन तथा मन्त्रालयका तर्फबाट लक्षित वर्गले प्रत्यक्ष अनुभूति गर्ने गरी कार्यक्रम सञ्चालन गर्न निर्देशनसमेत दिए।
अपांगता भएका व्यक्तिहरूलाई लक्षित गरी सञ्चालन गरिने कार्यक्रम औपचारिकतामा मात्र सीमित नभई उनीहरूको जीवनस्तर सुधार, क्षमता विकास, आत्मनिर्भरता र सामाजिक सहभागिता अभिवृद्धिमा केन्द्रित हुनुपर्नेमा उनले जोड दिए। कार्यक्रममा अपांगता भएका व्यक्तिहरूका संस्था तथा सरोकारवालाबीच भएका असल अभ्यास, अनुभव र सिकाइ आदानप्रदानले आगामी दिनमा नीति तथा कार्यक्रम निर्माण र कार्यान्वयनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij