Logo

Nov 24 2026 | २०८३, मंसिर ९गते

कालीगण्डकी किनारमा भेटिएको दुर्लभ शालग्राम मोदीलाई बालेनको उपहार

कालीगण्डकी किनारमा भेटिएको दुर्लभ शालग्राम मोदीलाई बालेनको उपहार

काठमाडौँ : भारतको दुईदिने राजकीय भ्रमणका क्रममा प्रधानमन्त्री वालेन्द्र शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई रुद्राक्ष, शालग्राम र पशुपतिनाथको चन्दन उपहार दिए। उपहारमध्ये शालग्राम नेपालको कालिगण्डकी नदीमा मात्र पाइन्छ।मोदीलाई बालेनले दिएको शालग्राम मुस्ताङको सदरमुकाम जोमसोमबाट ल्याइएको हो। गत भदौमा सञ्चारकर्मी सन्दीप शर्मा रिजाल र राजेन्द्रप्रकाश ढकालले मुस्ताङको जोमसोम नजिकै कालीगण्डकी नदी किनारमा घुम्दै गर्दा दशैँअघि उक्त शालग्राम फेला पारेका थिए।

अन्य शालग्रामभन्दा फरक र विशेष आकृतिको देखिएपछि जोमसोममा व्यवसायसमेत गर्ने रिजालले त्यसलाई आफूसँगै सुरक्षित राखेका थिए।

मोदीलाई उपहार के दिने भन्ने कार्तिक अन्तिमतिर प्रधानमन्त्रीको सचिवालयमा छलफल भइरहेको थियो। यो वेला सडक बोर्डका कार्यकारी समिति सदस्य अरुणकुमार श्रेष्ठ मुस्ताङ भ्रमणमा थिए। प्रधानमन्त्रीको सचिवालयले शालग्राम ल्याउन श्रेष्ठलाई जिम्मा दियो। त्यसपछि श्रेष्ठले रिजाललाई सम्पर्क गरी शालिग्राम आवश्यक परेको बताए।


रिजालले आफूसँग विशेष प्रकृतिको एउटा शालग्राम रहेको जानकारी गराउँदै उक्त शालग्राम देखाए। शालग्रामको आकृति र विशेषताबारे जानकारी पाएपछि प्रधानमन्त्री कार्यालयबाटै त्यसलाई माग गरिएको थियो। श्रेष्ठले बालेनको भ्रमणभन्दा पाँच दिनअघि मुस्ताङबाट शालग्राम काठमाडौँ ल्याए।

प्रधानमन्त्री कार्यालयमा पठाउनुअघि रिजालले उक्त शालग्रामको धार्मिक तथा आध्यात्मिक विशेषताबारे धर्मगुरुहरूसँग परामर्श गरेका थिए। 

उक्त शालग्राममा गणेश, शिव, विष्णु, वराह, मुक्तिनाथ मन्दिरमा स्थापित मूर्तिको स्वरूपसहित अर्धनारीश्वरलगायत सातभन्दा बढी देवीदेवताका आकृति देखिने बताइएको छ। यसका साथै उक्त शालग्राममा ६ वटा चक्र स्पष्ट देखिन्छन्।

सामान्यतया गोलाकार स्वरूपमा पाइने शालग्रामभन्दा यो शालग्रामको बनावट फरक छ। हेर्दा नै मूर्तिको आकृतिजस्तो देखिने यस शालग्राममा विभिन्न देवीदेवताका स्वरूप प्राकृतिक रूपमा कुँदिएजस्तै देखिन्छन्।

शालग्रामसम्बन्धी जानकारी राख्ने धर्मगुरुहरूका अनुसार कुनै भाग अखण्ड र यति धेरै देवीदेवताका स्वरूप एउटै शालग्राममा देखिनु दुर्लभ विशेषता हो। शालग्रामको छनोटमा सक्रिय पाण्डित बालकृष्ण शर्माले दिव्य प्रकृतिको शालग्राम निकै मुस्किलले भेटिने बताए। यस्तो शालग्रामलाई सेवा गर्ने अवसर भाग्यमानीलाई मात्र प्राप्त हुने उनको भनाइ छ।

अन्ततः कालीगण्डकीको किनारमा भेटिएको विशेष शालग्राम नेपालका प्रधानमन्त्रीको भारत भ्रमणमा उपहारका रूपमा पुगेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट