नेपालमा हात्ती सफारी पर्यटन, संरक्षण र स्थानीय रोजगारीसँग गहिरोसँग जोडिएको भए पनि पशु कल्याणका सवालले यसको स्वरूपमाथि नयाँ बहस सिर्जना गरेको छ।हात्तीको उपयोग तत्काल निषेध गर्नुको सट्टा वैज्ञानिक मापदण्ड, चरणबद्ध सुधार, स्थानीय सहभागिता र दीर्घकालीन व्यवस्थापनमार्फत सहअस्तित्वको बाटो खोजिनुपर्छ।सरकार, निजी क्षेत्र र संरक्षण संस्थाहरूले हात्तीको स्वास्थ्य, अवकाशपछिको हेरचाह, माहुतेको रोजगारी र चितवनको पर्यटन भविष्यलाई समेट्ने जिम्मेवार मोडल विकास गर्नुपर्छ।नेपालमा हात्तीपालनको इतिहास आधुनिक पर्यटन उद्योगभन्दा धेरै पुरानो छ ।
परापूर्वकालमा सवारी, सम्मान तथा जंगलको यात्रामा हात्तीको प्रयोग हुने गथ्र्यो । आधुनिक नेपालमा पनि हात्तीले वन गस्ती, वन्यजन्तुको अनुगमन, अनुसन्धान र पर्यटनमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ । खासगरी चितवनको पर्यटन विकासमा हात्तीको योगदान उल्लेखनीय छ । सौराहा, बाघमारा, कुमरोजलगायत क्षेत्रमा हात्ती सफारीले चितवनलाई अन्तर्राष्ट्रिय पर्यटन बजारमा चिनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ ।
तर पछिल्ला वर्षहरूमा हात्तीको उपयोगलाई लिएर नयाँ बहस सुरु भएको छ । केही राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पशु कल्याण संस्थाहरूले हात्तीलाई साङ्लोबाट मुक्त गर्नुपर्ने, मानिस चढ्ने सफारी बन्द गर्नुपर्ने र हात्तीलाई मनोरञ्जनका गतिविधिबाट अलग राख्नुपर्ने अभियान चलाइरहेका छन् । ‘चेन–फ्रि, पेन–फ्रि’ यस बहसको प्रमुख विषय बनेको छ ।
हात्ती मात्र होइन, कुनै पनि प्राणीलाई अनावश्यक पीडा दिनु हुँदैन । तर यसै आधारमा हात्ती र मानिसबीचको ऐतिहासिक सम्बन्ध, संरक्षणमा स्थानीय समुदायको योगदान, पर्यटनबाट सिर्जित रोजगारी र हात्तीको दीर्घकालीन पालनपोषणका व्यावहारिक पक्षलाई बेवास्ता गर्नु उचित हुँदैन । प्रश्न हात्तीको संरक्षण गर्ने कि नगर्ने भन्ने होइन, संरक्षण कसरी गर्ने र त्यसको जिम्मेवारी कसले लिने भन्ने हो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij