Logo

Nov 24 2026 | २०८३, मंसिर ९गते

भावी प्रधानसेनापति अनुपजंग थापासहित छ सैनिक अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान !

भावी प्रधानसेनापति अनुपजंग थापासहित छ सैनिक अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान !

काठमाडौं : नेपाली सेनाका प्रधानसेनापति महारथी अशोकराज सिग्देलले भावी प्रधानसेनापतिको रोलक्रममा रहेका रथी अनुपजंग थापासहित विभिन्न दर्जामा पदोन्नति भएका छ जना सैनिक अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।२०८३ मंसिर ४ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार उपरथीबाट रथी दर्जामा पदोन्नति भएका थापालाई प्रधानसेनापति सिग्देलले मंसिर ८ गते मंगलबार सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित विशेष समारोहबीच दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।

रथी दर्जामा पदोन्नति भएका अनुपजंग थापा नेपाली सेनाको भावी प्रधानसेनापतिको रोलक्रममा पहिलो वरीयतामा रहेका छन् । वर्तमान प्रधानसेनापति महारथी अशोकराज सिग्देलको तीनवर्षे कार्यकाल २०८४ भदौ २४ गते पूरा हुँदैछ । विद्यमान सैनिक वरीयता र नेतृत्व हस्तान्तरणको रोलक्रम यथावत् रहेमा थापाले सोही मितिदेखि महारथी दर्जामा पदोन्नति भई नेपाली सेनाको ४५औँ प्रधानसेनापतिका रूपमा कार्यभार सम्हाल्नेछन् ।थापाको रथी दर्जामा भएको पदोन्नतिलाई व्यक्तिगत वृत्ति विकासका रूपमा मात्र नभई नेपाली सेनाको आगामी नेतृत्व हस्तान्तरणका दृष्टिले समेत विशेष महत्त्वका साथ हेरिएको छ । यद्यपि, प्रधानसेनापतिको औपचारिक नियुक्ति मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट हुने संवैधानिक व्यवस्था रहेको छ ।

प्रधानसेनापति सिग्देलले सोही समारोहमा सहायक रथीबाट उपरथी दर्जामा पदोन्नति भएका मनोज थापालाई पनि दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।त्यसैगरी, सहायक रथी दर्जामा पदोन्नति भएका प्राविधिक महासेनानी जगत शाह, महासेनानी पंकज रावल र महासेनानी शितल बानियाँलाई पनि प्रधानसेनापतिले दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।समारोहमा प्राविधिक प्रमुख सेनानीबाट महासेनानी दर्जामा पदोन्नति भएका अरविन्द श्रेष्ठलाई समेत दर्ज्यानी चिह्न प्रदान गरिएको नेपाली सेनाले जनाएको छ ।

नेपाली सेनामा उच्च सैनिक अधिकृतहरूको पदोन्नतिलाई संगठनको नेतृत्व विकास, व्यावसायिक दक्षता, संस्थागत निरन्तरता र भावी नेतृत्व व्यवस्थापनका दृष्टिले महत्त्वपूर्ण मानिन्छ । पदोन्नतिसँगै सम्बन्धित सैनिक अधिकृतहरूको पदीय जिम्मेवारी, नेतृत्वदायी भूमिका र संस्थागत जवाफदेहितासमेत बढ्ने गर्दछ ।

विशेषगरी, भावी प्रधानसेनापतिको रोलक्रममा रहेका अनुपजंग थापाले रथी दर्जाको दर्ज्यानी चिह्न प्राप्त गरेसँगै नेपाली सेनाको आगामी नेतृत्व हस्तान्तरणको प्रक्रिया थप स्पष्ट भएको छ ।जङ्गी अड्डामा आयोजित दर्ज्यानी चिह्न प्रदान समारोहमा नेपाली सेनाका रथीवृन्द, सैनिक अधिकृतहरूका साथै पदोन्नति भएका रथीवृन्द तथा अधिकृतका परिवारजनको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट