Logo

Nov 24 2026 | २०८३, मंसिर ९गते

ईनम सापकोटाकी पत्नी कविता पाण्डेसँग प्रहरीले गरायो घटना विवरण कागज

ईनम सापकोटाकी पत्नी कविता पाण्डेसँग प्रहरीले गरायो घटना विवरण कागज

काठमाडौँ  : ईनम सापकोटाकी पत्नी कविता पाण्डेलाई प्रहरीले घटना विवरण कागज गराएको छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग ‘कनेक्सन’ देखिएपछि पक्राउ परेका सापकोटा हाल जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा छन् ।

प्रहरीले सापकोटाविरुद्ध नेपाल राष्ट्र बैंक ऐन, २०५८ र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐनअन्तर्गतको कसुरमा अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ । सोही अनुसन्धानका क्रममा पत्नी पाण्डेलाई अघिल्लो हप्ता नै कार्यालयमा झिकाएर घटना विवरण कागज गराइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतले जानकारी दिए ।


सापकोटाको मोबाइल परीक्षण गर्दा उनले एक व्यक्तिलाई पत्नी कविताको बैंक खातामा रकम जम्मा गरिदिन आग्रह गर्दै म्यासेज पठाएको भेटिएको थियो । सानिमा बैंकमा रहेको कविताको खाता नम्बर पठाउँदै ७ हजार ५०० अमेरिकी डलर जम्मा गरिदिन म्यासेज गरेको पाइएपछि अनुसन्धान अधिकृतहरूले पाण्डेसँग सोधपुछ गरेका हुन् । उक्त कारोबार तथा सापकोटासँग जोडिएका अन्य विषयमा जानकारी लिएर उनलाई कागज गराइएको प्रहरीले जनाएको छ ।

यसैबिच, सापकोटाको सम्पर्कमा रहेका उच्च पदस्थ तथा प्रभावशाली व्यक्तिहरू पक्राउ पर्ने क्रम जारी छ । हाल सापकोटासँग सम्पर्क देखिएका कीर्तिपुरस्थित पुष्पसदन बोर्डिङ सेकेन्डरी स्कुलका प्रिन्सिपल महेश श्रेष्ठ र लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्टलाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान अघि बढाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट