निर्देशक दीपेन्द्र के खनालले निर्देशन गरेको ‘मेयर’ नामक फिल्म रिलिज हुन सकेको छैन । अझ, भनौ यो फिल्म पोष्ट प्रोडक्सनमा नै अलपत्र परेको छ । यो फिल्म बागमती नगरपालिकाका मेयर भरत कुमार थापाको बायोपिक हो । उसो त, विवादमा आउने भयले फिल्मको टिमले भरतको बायोपिक भन्न सकेको छैन ।
यो फिल्ममा खगेन्द्र लामिछाने मेयर थापाको भूमिकामा देखिएका छन् । फिल्मको शुभसाइत समारोहमा दीपेन्द्र र खगेन्द्रले मेयर थापाको खुलेरै बचाउ गरेका थिए । साथै, उनले गरेको विकासबाट प्रभावित भएर फिल्म बनाउन लागेको तर्क पेश गरेका थिए ।
दीपेन्द्रको निर्देशनमा खगेन्द्रले केन्द्रीय भूमिकामा काम गरेको फिल्म ‘मेयर’ रिलिज हुन नसक्नुको मुख्य कारण हो, मेयर भरत थापाको विवादस्पद काम । उनलाई, बुधबार मात्र विशेष अदालतले भरत ताल निर्माणका क्रममा भ्रष्टाचार गरेको ठहर गर्दै १ वर्ष कैद सजायँ सुनाएको छ । साथै, अदालतले ३ करोड ४५ लाख २२ हजार ३८७ रुपैयाँ जरिवाना समेत तोकेको छ ।
अदालतले मेयर थापा र उनको परिवारको आय र व्ययको विश्लेषण गर्दा आय भन्दा व्यय ३ करोड ४५ लाख २२ हजार ३ सय ८७ रुपैयाँ बढी देखिएको फैसला गरेको हो । सजाय सुनाउनका लागि साउन २९ गतेलाई पेसी समेत तोकिएको छ ।
विवादस्पद व्यक्तिको बायोपिक बनाउन र खेल्नु अगाडि निर्देशक खनाल र नायक लामिछानेले कुनै पनि अध्ययन नगरेको देखिन्छ । कुनै पनि व्यक्तिको बायोपिक बनाउनु अगाडि उसको जीवनकथाको बारेमा राम्रोसँग अध्ययन गर्न जरुरी छ । तर, दीपेन्द्र र खगेन्द्रले विवादित व्यक्ति थापाको बायोपिक कुन उद्देश्यले बनाएका थिए भन्ने प्रश्न पनि उठेको छ । यस्तो अवस्थामा, के निर्देशक र केन्द्रीय भूमिकामा काम गर्ने नायकले दर्शकसँग आत्मालोचना गर्लान् त ?
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij