बेलायत : नेपथ्यले बेलायतको सुप्रसिद्ध वेम्बली एरिनामा आफ्नो प्रस्तुति दिएको छ। १२ वर्षअघि सोही हलमा मानक स्थापित गरेको ब्यान्डले यसपटक झन् ठूलो सफलता हात पार्दै स्थानीय समयअनुसार शनिबार बेलुकी करिब १० हजार दर्शकमाझ भव्य प्रस्तुति दिएको जनाएको हो।
निर्धारित समयमा सुरु भएको कन्सर्ट ‘कोशीको पानी’ बाट आरम्भ भई ‘आँगनैभरि’ लगायतका लोकप्रिय गीत प्रस्तुत भए। गायक अमृत गुरुङले गीतसँगै नेपाली भाषा, संस्कृति र स्वदेशप्रतिको मोहलाई उजागर गर्ने मन्तव्य राख्दा दर्शकले उत्साहपूर्वक समर्थन जनाए।
दर्शकको ‘वान्स मोर’ आग्रहलाई सम्मान गर्दै ब्यान्डले अन्त्यमा ‘हिमाल चुचुरे’ पनि सुनायो। मञ्चमा अमृतलाई ध्रुव लामा (ड्रम), सुविन शाक्य (बेस गितार), नीरज गुरुङ (गितार), शान्ति रायमाझी (मादल) र दिनेशराज रेग्मी (किबोर्ड) ले साथ दिएका थिए।
नेपालयका किरणकृष्ण श्रेष्ठका अनुसार, यो प्रस्तुति नेपाली संगीत इतिहासमा बन्द हलभित्र सबैभन्दा धेरै दर्शकको उपस्थिति भएको हो। ‘बीएसके इन्टरटेनमेन्ट’ र ‘पर्चा प्रोडक्सन’ द्वारा आयोजित यस कार्यक्रमपछि नेपथ्य युरोप टुरमा निस्कनेछ, जसअन्तर्गत कोपेनहेगन, माल्टा, लिस्बन र एन्थ्रोपेनमा प्रस्तुति दिनेछ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij