Logo

Sep 17 2026 | २०८३, आश्विन १गते

बिहीबार नै रिलिजमा आयो ‘कोशेढुंगा’

बिहीबार नै रिलिजमा आयो ‘कोशेढुंगा’

काठमाडौँ : आज १२ बिहीबारदेखि नयाँ नेपाली फिल्म ‘कोशेढुंगा’ प्रदर्शनमा आएको छ । नयाँ फिल्म शुक्रबार रिलिजको परम्परा भएपनि चाडपर्वको अवसरमा भने अन्य दिन पनि फिल्म प्रदर्शनमा आउने गरेको छ ।

तीजको अवसर पारेर यो फिल्म बिहिबारबाटै रिलिज भएको हो । यद्यपि, फिल्मले देशभरको सबै हलमा एकल प्रदर्शन अवसर भने पाएको छैन । किनभने गतसाता रिलिज भएका ‘माग्ने राजा’ र ‘जनै हराएको मान्छे’ले र केही हिन्दी फिल्मले कतिपय फिल्म हल कब्जा गरेका छन् ।

‘कोशेढुंगा’ हिट फिल्म ‘पूर्णबहादुरको सारङ्गी’का निर्देशक सरोज पौडेलले निर्देशन गरेका हुन् । फिल्मको बुधवार साँझ काठमाडौँमा प्रिमियर गरिएको थियो । जसमा फिल्मले तारिफ पाएको थियो ।फिल्मको तीज विशेष गीत ‘नत्र भने जिन्दगी व्यर्थ छ है बाटुली’ले दर्शकमाझ बनाएको हाइप लोभलाग्दो छ ।

वैदेशिक रोजगारीमा गएको व्यक्ति कसरी बिना कसूर अपराधी करार हुन्छ, अनि त्यसको असर उसको परिवारमा कस्तो पर्छ ? भन्ने विषय फिल्मले उठाएको छ । ब्लड मनीको कथा समेत उठान गरेको फिल्म नरदेवी फिल्मसको प्रस्तुतिमा तयार भएको हो ।

फिल्ममा सुरक्षा पन्त, प्रेविल कँडेल, आर्यन सिक्देल, ऋचा शर्मा, नीति शाह, प्रवीण खतिवडा, सरोज खनाल, विशाल पहाडी, लोकमणि सापकोटा, हिउवाला गौतम, सिर्जना अधिकारी, शेखर चापागाई, दिनेश काफ्ले, सिरु विष्ट, स्नेहा जोशी, सुबलमणि सापकोटा, सविता रेग्मी लगायतका कलाकारको अभिनय छ ।

फिल्मका निर्मातामा प्रेविल कँडेल र किशोर अनुराग हुन् । कार्यकारी निर्माता दिनेश खड्का रहेको फिल्ममा बाबु श्रेष्ठले छायाङ्कन, सुरेन्द्र पौडेलको सम्पादन छ । फिल्मका गीतमा रिदम कँडेल र आशिष अविरलको संगीत छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट