Logo

Sep 17 2026 | २०८३, आश्विन १गते

जितियाको अवसरमा थारू भाषाको फिल्म ‘लेहरा’ प्रदर्शन

जितियाको अवसरमा थारू भाषाको फिल्म ‘लेहरा’ प्रदर्शन

चितवन : जितिया पर्वको पूर्वसन्ध्यामा हिजो आइतबारका दिन पूर्वी चितवनको म्याङ्गो जनज्योति हलमा थारू भाषाको फिल्म 'लेहरा'को विशेष प्रदर्शन गरिएको छ। डियर लव फिल्म्सको ब्यानरमा किशोर चौधरीको लेखन तथा निर्देशन रहेको उक्त फिल्म दुई शो का लागि प्रदर्शन गरिएकोमा दुवै शो हाउसफुल भएको थियो।माइतलाई थारू भाषामा लेहरा भनिन्छ। बिहेबारी भई गएका चेलीबेटीहरू बेखुशी भएको अवस्थामा खुशी खोज्न जाने ठाउँ नै लेहरा हो भनेर देखाइएको छ।फिल्ममा निर्देशक किशोर चौधरी नै फिल्मको मुख्य भूमिकामा देखिएका छन् भने अन्य कलाकारहरू सुस्मिता चौधरी, बिका महतो, जितेन्द्र चौधरी, रामप्रीत चौधरी, बिकेस्मा चौधरी, बलराम चौधरी, भुलन चौधरी, बिनिता चौधरी ९बालकुमारी चौधरी०, एरिन चौधरी, प्रेम चौधरी, रोजिना चौधरी, जितेन्द्र महतो, महेन्द्र चौधरी, शान्ति चौधरी, अन्जु महतो, अनुसा चौधरी, चुडामणी महतो, बुद्धि महतो, सरस्वती चौधरी लगायतले विभिन्न भूमिका निर्वाह गरेका छन् ।

फिल्म करिब पाँच लाख जतिको सानो बजेटमा निर्माण भएतापनि यसमा केहि आधुनिकता र केही परम्पराका साथै केही हास्य र केही व्य‌ङ्ग्य पनि समावेश छ। केही यथार्थता र केही परिकल्पनाका साथै केही संस्कार-सँस्कृति र केही पौराणिकता झल्किएको छ। केही एक्सन र केही रोमान्सका साथै केही मिठास र केही तिक्तता लगायतका विभिन्न परिवेशको सङ्ग‌मको रूपमा निकै कलात्मक तरिकाले तयार पारिएको फिल्मले दर्शकहरूलाई दुई घण्टा ३५ मिनेटसम्म भरपुर मनोरञ्जन दिने खालको बनेको छ। फिल्ममा केही सशक्त पक्ष र केही सुधार गर्नुपर्ने पक्ष पनि देखिन्छ। तर, सुधार गर्नुपर्ने पक्ष केलाउन र टिप्पणी गर्नका लागि भने दर्शकहरूले पुरै फिल्म हेर्नुपर्ने हुन्छ।धेरै वर्षपछि सिनेमा हलमा प्रवेश गरेका दर्शकहरू आफ्नै गाउँघर वरपरको दृष्य समेटेको, आफ्नै घरमा बोलिने भाषामा बनेको र आफ्नै समुदायका परिचित कलाकारहरूको प्रस्तुति समेटिएको फिल्म 'लेहरा' हेरेपछि निकै सन्तुष्ट रहेको बताए। मातृभाषा र सँस्कृति संरक्षण तथा प्रवर्द्धनका लागि फिल्म नै सबैभन्दा सशक्त माध्यम भएकोले यसखालको फिल्म नियमित रूपमा निर्माण हुन आवश्यक रहेको छ। फिल्मको च्यारिटीबाटै लगानी असुलउपर गरी प्रशस्त मुनाफा पनि कमाउन सकिने सम्भाव्यता भएकोले लगानीकर्ताले मातृभाषा फिल्ममा निर्धक्क लगानी गर्दा केही फरक पर्दैन।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट