काठमाडौं : भारतीय र नेपाली फिल्मकर्मी मिलेर नयाँ फिल्म निर्माण हुने भएको छ। दक्षिण भारतीय केही निर्माताको सहकार्यमा नेपालमै तयार हुन लागेको यो फिल्मलाई अपेक्षित प्रोजेक्टका रूपमा लिइएको छ।
बी एण्ड के इन्टरटेन्मेन्ट र अक्स इन्टरनेशनल स्टुडियोजको संयुक्त ब्यानरमा ‘मोना लिसा (ब्लडी लभ)’ निर्माण हुने भएको हो। आज घटस्थापनाको दिन पारेर चलचित्र निर्माणको औपचारिक घोषणा गर्दै टाइटल पोस्टर सार्वजनिक गरिएको छ। चलचित्रको लेखन तथा निर्देशन किङ योगीले गर्ने भएका छन्।

ठूलो बजेटमा निर्माण हुने भनिएको यस फिल्ममा भारतसहित विभिन्न देशका अनुभवी प्राविधिक टोली संलग्न हुने जानकारी अक्स इन्टरनेशनल स्टुडियोजले दिएको छ। यसअघि ठूला–ठूला अन्तर्राष्ट्रिय फिल्ममा काम गरिसकेका प्राविधिक समूह यसमा संलग्न हुने भएकाले प्राविधिक पक्ष बलियो रहने अपेक्षा गरिएको छ।

हाल फिल्मको प्रारम्भिक तयारीसँगै कलाकार छनोट (कास्टिङ) प्रक्रिया अगाडि बढिरहेको निर्माण पक्षले जनाएको छ। कथा, शैली र भिजुअलमा नवीनपन ल्याउने उद्देश्यसहित निर्माण हुन लागेको यो चलचित्र २०२६ मा विश्वव्यापी रूपमा प्रदर्शन गर्ने योजना रहेको बताइएको छ।
सार्वजनिक गरिएको पहिलो झलक पोस्टरमार्फत फिल्मलाई ‘ब्लडी लभ’ (रगतिलो प्रेम) भन्ने ट्यागलाइन दिइएको छ। यसले चलचित्रमा रोमान्स र एक्सनको अनौठो मिश्रण रहने संकेत दिएको छ। प्रेमका लागि कसरी युद्धसम्मको परिस्थिती सिर्जना हुन्छ भन्ने विषयलाई फिल्मले प्रस्तुत गर्ने जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij