भक्तपुर : घटस्थापनाको अवसर पारेर भक्तपुरस्थित निस्ट स्कुलका कक्षा ६ मा अध्ययनरत तीन बालगायिकाहरूको स्वरमा रेकर्ड गरिएको माता जगदम्बाको भजन सार्वजनिक गरिएको छ ।
विद्यालयमा आयोजित विशेष समारोहका बीच विद्यालयका प्रिन्सिपल दिलिप रानाले भजनको औपचारिक विमोचन गरेका हुन् । ‘अम्बे ! अम्बे ! जय अम्बे ! जय जगदम्बे !’ शीर्षकको यस भजनमा छात्रा सौम्या आचार्य, आरोशी बराल र विदिता भट्टराईको सुमधुर स्वर समावेश छ ।
कार्यक्रममा बोल्दै प्रिन्सिपल रानाले नानीहरूले गाएको भजनले विद्यालयका अन्य विद्यार्थीहरूलाई पनि कला, संस्कार र भक्ति मार्गप्रति प्रेरित गर्ने विश्वास व्यक्त गरे । “उनीहरूको प्रस्तुति निकै नै प्रेरणादायी छ,” उनले भने, “यसले सिर्जनात्मक प्रतिभाको विकासमा विद्यालयले गरेको लगानीलाई थप पुष्टि गरेको छ ।”
भजनमा बालगायिकाहरूले आफूहरूलाई देवी माताको सन्तानका रूपमा प्रस्तुत गर्दै मातासँग ज्ञान, विवेक र सद्बुद्धिको याचना गरेका छन् । भजनमार्फत मानव मात्र नभई सम्पूर्ण जीवमा देवीको अंश रहेको सन्देश दिइएको छ ।
वरिष्ठ पत्रकार डीआर आचार्यको रचनामा संगीतकार राजेन्द्र सुवेदीले संगीत भरेका छन् भने सुवेदी स्वयंको स्वर पनि भजनमा सुन्न सकिन्छ । ओपल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको उक्त भजनको एरेन्ज विष्णु अधिकारीले गरेका हुन् । रेकर्डिस्ट शंकर लिम्बू रहेका छन् ।
भजनको निर्देशन केवशराज भट्टले गरेका हुन् भने सिनेमाटोग्राफर अजय रेग्मी, शृंगार विमला तामाङ, सम्पादन दीपक विष्ट र पोस्ट-प्रोडक्सन प्रफिट मिडिया प्रालिले गरेको हो । प्रोडक्सन म्यानेजर नथुनी जैसवाल रहेका छन् ।
भजन सार्वजनिक कार्यक्रममा विद्यालयका शिक्षक, अभिभावक, कर्मचारी तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति थियो । भजनमा रचनाकार डीआर आचार्यसहित बालगायिकाहरू सौम्या, आरोशी र विदिताले अभिनय समेत गरेका छन् ।
https://youtu.be/Kb_l8vIfhBE© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij