काठमाडौँ : टंक बुढाथोकीको निर्माण तथा निर्देशन रहेको फिल्म ‘मन बिनाको धन’को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ । निर्माण युनिटले सार्वजनिक गरेको पोस्टरमा फिल्मका मुख्य कलाकार अशोक दर्जीलाई मात्र देखाइएको छ । पोस्टरमा अशोक विद्यालय पोसाकमा छन् । पोस्टरमा ‘कथा जिरोदेखि हिरोसम्म’ ट्यागलाइन राखिएको छ ।
‘मन बिनाको धन’ आगामी कात्तिक २१ गतेबाट प्रदर्शनमा आउँदैछ । फिल्ममा अशोकका अलावा सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा, बुद्धि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा, पार्वती अधिकारी, उत्सव सापकोटा, एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा, बिना राउत, बाबु पराजुली, रक्षा श्रेष्ठ, प्रियंका झा, विनय अधिकारी, आर्यन नेपाल र विजय डंगोल लगायतका कलाकारको अभिनय छ ।
अशोकले ‘मन बिनाको धन ठुलो कि धन बिनाको मन’ बोलको गीतबाट नै आफ्नो जीवन परिवर्तन गरेका थिए । हाल उनी काठमाडौँमा कक्षा ९ मा अध्ययनरत छन् । सामाजिक विषयवस्तुमा आधारित यस फिल्मको कथा टंक बुढाथोकीले लेखेका हुन् । फिल्मको पटकथा र संवाद शिवम अधिकारीको छ ।
फिल्मकी निर्माता विष्णु माया मैनाली हुन् भने कार्यकारी निर्माता सपना शर्मा रहेकी छिन् । जीपी संग्रौला, विवेक नेपाल र विजया पाण्डे सहनिर्माताका रूपमा छन् । फिल्ममा टंक बुढाथोकीको संगीत, सौरभ लामाको छायाङ्कन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी तथा मित्र डी. गुरुङको सम्पादन रहेको छ ।
फिल्मलाई एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्नेछ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij