Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

‘माइतीघर एउटा स्थान मात्रै होइन, भावना र याद पनि हो’

‘माइतीघर एउटा स्थान मात्रै होइन, भावना र याद पनि हो’

काठमाडौँ : कुनै पनि कलाकारका लागि एउटा विरासत बनिसकेको सिर्जनामा जोडिन पाउनु आफैँमा अहम् कुरा हो । थुप्रै फिल्ममा भिन्न-भिन्न भूमिकामार्फत आफूलाई प्रमाणित गरिसकेकी अभिनेत्री उपासना सिंह ठकुरी विरासत बनेको फिल्म ‘माइतीघर’ नामकै नयाँ फिल्म लिएर आउँदै छिन् ।

उपासनाको शीर्ष भूमिका रहेको ‘माइतीघर’ दसैँको फूलपाती अर्थात् असोज १३ गतेदेखि दर्शकमाझ आउँदैछ । खास फिल्म र खास भूमिकाकारण पनि उपासना निकै उत्साहित छिन् । जसकारण उनी प्रचारको दौडधुपमा निकै व्यस्त छिन् ।

‘बिहान उठ्यो प्रचारमा दौडियो, कहिले कुन मिडियामा अन्तर्वार्ता, कहिले कुन मिडिया’, उनी आफ्नो व्यस्तताबारे सुनाउँछिन्, ‘दर्शक बोलाउन फिल्मको प्रचारप्रसार गर्नु नै पर्‍यो ।’ उनले यो व्यस्ततालाई आफ्नो करिअरको महत्त्वपूर्ण हिस्सा मानेकी छिन् ।

फिल्मलाई लिएर उनी आशावादी त छिन् तर यही मितिमा अरु दुईवटा प्रतीक्षित फिल्म पनि आउने भएकाले चुनौती पनि उत्तिकै छ । असोज १३ मै ‘बलिदान’ र ‘हरिबहादुरको जुत्ता’ रिलिज हुँदैछन् ।

सन् १९६६ मा बीएस थापा निर्देशित फिल्म ‘माइतीघर’ रिलिज भएको थियो । यो फिल्मले नेपाली फिल्म क्षेत्रलाई नै छुट्टै आकार दिएको थियो । यही नाममा उपासनाको शीर्ष भूमिका रहेको फिल्म अहिले बनेको हो । उपासना ‘माइतीघर’ एक फिल्म मात्रै नभई विरासतको सम्मान पनि भएको बताउँछिन् । ‘त्यो एउटा क्लासिक फिल्म हो, जसले नेपाली इन्डस्ट्रीलाई नै अहिलेको अवस्थासम्म डोर्‍याउन सफल भयोजस्तो मलाई लाग्छ,’ उनी भन्छिन् ।

पुरानो ‘माइतीघर’ले महिलाको संघर्षलाई केन्द्रमा राखेर एउटा शक्तिशाली महिला पात्रको कथा प्रस्तुत गरेको थियो । उपासनाका अनुसार नयाँ ‘माइतीघर’ले पनि त्यही भावलाई जीवन्त राखेको छ । फिल्मको कथामा भने भिन्नता छ ।

120155092_1134602267012830_8543515939006367116_n

‘मेरो विचारमा माइतीघर सबैका लागि एउटा प्लेस मात्र होइन । इमोसन्स हो, रिलेसनसिप हो’, उनी भन्छिन्, ‘विशेषगरी विवाह गरिसकेका महिलाहरूका लागि माइतीघर एउटा सुरक्षित ठाउँ हो, जहाँ उनीहरूले आफ्ना सुख–दुःख बाँड्न सक्छन् र बाल्यकालका यादहरूसँग जोडिन सक्छन् ।’ फिल्मले दर्शकलाई हँसाउँदै, रुवाउँदै यस्तै भावनात्मक यात्रामा लैजाने उनी बताउँछिन् ।

‘माइतीघर’मा उपासना एक तामाङ समुदायकी युवतीको भूमिकामा छिन्, जुन उनका लागि पहिलो अनुभव हो । ‘मैले फर्स्टटाइम तामाङ कल्चरको फिल्म र तामाङ केटीको क्यारेक्टर नै गर्न पाएँ’, उपासना सुनाउँछिन्, ‘पारिवारिक, सरल स्वभाव र सधैं परिवारलाई प्राथमिकता दिने खालकी केटीको भूमिका मेरो छ ।’

484181043_2231651773974535_320814610613239797_n

यसअघि ‘खुस्मा’मा मगर समुदायकी युवतीको भूमिका निभाएकी उनलाई जातीय र सांस्कृतिक विविधता भएका पात्रहरूमा अभिनय गर्न विशेष रुचि छ । ‘म त स्क्रिप्टको ओभर अल हेर्ने हो । मलाई जुन स्क्रिप्टले मन छुन्छ, आफ्नो इमोसनल्ली मलाई एकदमै कनेक्टेड हुन्छ, त्यही गर्छु’, उनी भन्छिन्, ‘विभिन्न संस्कृतिमा आधारित पात्रहरू निभाउनु जान्ने अवसर पनि हो ।’

‘माइतीघर’मा उपासनाले धिरज मगर र प्रकाश सपुतसँग काम गरेकी छिन् । फिल्म ‘खुस्मा’मा उनको र धिरजको जोडीलाई दर्शकले निकै मन पराएका थिए, फिल्म हिट पनि भएको थियो । यसले ‘माइतीघर’मा पनि धिरज र उपासनाको जोडीलाई लिएर दर्शकमा एक किसिमको अपेक्षा बढेको छ । यद्यपि उपासना यो फिल्ममा आफ्नो जोडी धिरज कि प्रकाश त्यो ‘सस्पेन्स’मै राख्न चाहन्छिन् ।

474222672_18490127986029818_901620390738636115_n

प्रकाश सपुतसँग भने उपासनाको यो पहिलो सहकार्य हो । ‘प्रकाश सपुतलाई एक हम्बल र को–एक्टरलाई प्राथमिकता दिने व्यक्तिको रुपमा पाएँ,’ उनी भन्छिन् ।

हरेक फिल्मले आफूलाई केही न केही सिकाएको उपासना बताउँछिन् । ‘सफलताले ग्राउन्डेड रहन सिकाउँछ । सफल होस् वा असफल, हरेक कुरालाई सामान्य रूपमा लिन्छु,’ उनी भन्छिन्, ‘प्रत्येक अनुभवबाट केही सिक्ने प्रयास गरिरहेकी हुन्छु ।‘

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट