काठमाडौँ : दसैँको फूलपातीको अवसर पारेर सोमबार तीन नयाँ नेपाली फिल्म प्रदर्शनमा आएका छन्। ‘माइतीघर’, ‘हरिबहादुरको जुत्ता’ र ‘बलिदान’ नामक तीन फिल्म एकैसाथ दर्शक सामु प्रस्तुत भएका हुन्।
सामान्यतया शुक्रबार रिलिज हुने परम्परा भएपनि यसपटक चाडपर्वको अवसर पारेर सोमबार नै प्रदर्शन गरिएको हो। ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’ ले सेन्सर बोर्डबाट ‘यूनिभर्सल’ सर्टिफिकेट पाए भने ‘बलिदान’ ले ‘पिजी’ सर्टिफिकेट पाएको छ, जसअनुसार १६ वर्षभन्दा कम उमेरका दर्शकलाई अभिभावकको साथमा मात्र हेर्न मिल्ने व्यवस्था गरिएको छ।
‘माइतीघर’ रोहित अधिकारीको निर्माण तथा मिलन तामाङको निर्देशनमा बनेको हो। दुई घण्टा सात मिनेट लामो यस फिल्ममा धिरज मगर, उपासना सिंह ठकुरी, प्रकाश सपुत, केदार घिमिरे, श्यामाश्री शेर्पा, युवराज लामा, बुद्धि तामाङलगायतको अभिनय रहेको छ।
‘हरिबहादुरको जुत्ता’ दीपेन्द्र के. खनालको निर्देशनमा बनेको हो। २ घण्टा २१ मिनेट लामो यस फिल्ममा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, किरण केसी, राजाराम पौडेललगायतका कलाकारको भूमिका रहेको छ।
त्यस्तै, सन्तोष सेन निर्देशित ‘बलिदान’ २ घण्टा ४ मिनेट लामो छ। फिल्ममा सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, समीर भट्ट, कविता रायलगायतका कलाकारले अभिनय गरेका छन्।
रिलिजसँगै तीनै फिल्मका निर्माण टोली र कलाकारहरूले हल भिजिट गरी दर्शकसँग भेटघाट समेत गरेका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij