न्युयोर्क : लोकप्रिय गायक तथा स्टेज पर्फमर दुर्गेश थापा अमेरिकाको साङ्गीतिक यात्रामा रहेका छन्। तिहारको छेको पारेर अमेरिका पुगेका थापाले त्यहाँका ११ सहरमा साङ्गीतिक प्रस्तुति दिने कार्यक्रम तय गरेका छन्।
उनको यात्रा गत शुक्रबार अस्टिन, टेक्सासबाट सुरु भएको हो र नोभेम्बर २२ मा डालासमा पुगेर टुङ्गिनेछ।
“तिहारको माहोलमा अमेरिकामा रहेका नेपालीहरूसँग भेट्ने अवसर पाउँदा निकै उत्साहित छु,” थापाले बताए।
यो उनको पहिलो अमेरिका यात्रा हो। डेढ महिनाको यात्रामा उनी न्यूयोर्क, बाल्टीमोर, कोलम्बसलगायतका सहरमा पनि प्रस्तुत हुनेछन्।
थापाको साङ्गीतिक करियरमा गत वर्ष सार्वजनिक गीत ‘दुस्मन हेरेको हेर्यै…’ ले ठूलो मोड दिएको थियो। उक्त गीत युट्युबमा १३ करोडभन्दा बढीपटक हेरिएको छ र विश्व ट्रेन्डिङमा समेत परेको थियो। उनले यस गीतलाई आफ्नो ‘ब्राण्ड गीत’ मानेका छन्।
थापाले यो गीतमा शब्द, सङ्गीत र सङ्गीत संयोजन सबै आफैं गरेका हुन्। उनले आनन्द कार्की, समीक्षा अधिकारी र एलिना चौहानसँग यो गीतमा स्वर दिएका थिए। उनको पछिल्लो गीत ‘जाने भए जाम माया…’ पनि चर्चामा छ।
अमेरिकी यात्रापछि थापा क्यानाडा र युरोप भ्रमणमा जाने तयारीमा छन्। डान्सबारदेखि चलचित्रसम्मको यात्रा तय गरेका उनले पछिल्लो समय जेनजी आन्दोलनका घाइतेहरूलाई आर्थिक सहयोग समेत गरेका थिए। उनले काठमाडौँका अस्पताल पुगेर घाइतेहरूलाई भेट्दै ‘जेनजी युवामा देखिएको देशप्रतिको प्रेम र त्यागको भावना’ले आफूलाई गर्व लागेको बताएका थिए।
बागलुङको गलकोटबाट मोडल बन्ने सपना बोकेर २०६३ सालतिर काठमाडौँ पुगेका थापालाई अग्रज कलाकार बसन्त थापा ले कला क्षेत्रमा प्रवेश गराएका थिए। अहिले उनी आफूलाई गायकभन्दा बढी स्टेज पर्फमरको रूपमा चिनाउन चाहन्छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij