Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

रुचाइयो ‘वरिष्ठ बलराम’मा दयाहाङको फरक अवतार

रुचाइयो ‘वरिष्ठ बलराम’मा दयाहाङको फरक अवतार

काठमाडौँ : चलचित्र ‘वरिष्ठ बलराम’मा अभिनेता दयाहाङ राई केही फरक अवतारमा देखिएका छन् । टाई, सुट र कोटमा ठाँटिएर हिँड्छन् । समाजमा उचो छवि छ । प्रहरी प्रशासनदेखि राजनीतिक र समाजले उनको मानमनितो गर्छ । छवि अनुसारको गेटअपमा उनी देखिएका छन् । प्रायः चलचित्रमा दयाहाङलाई गाउँले गरिब चरित्रमा देखिन्छ । तर, ‘वरिष्ठ बलराम’मा उनी आवरणमा बिलकुल भिन्न देखिएका छन् । उनको यो रुप पनि दर्शकले रुचाएका छन् ।

उनको अभिनयसँगै गेटअप पनि दर्शकले मन पराएका हुन् । सधैँ एउटै चरित्रमा देखिरहेका दयाहाङको गेटअप दर्शकलाई मन परेको हो । अभिनय कलाले सधैँ दर्शकको मन जितेका दयाहाङको हुनेखाने र शहरिया हुलिया पनि मन पराइएको हो । सम्भत अब दयाहाङलाई निर्माताहरूले यो गेटअप अर्थात् शहरिया रोलमा पनि काष्ट गर्न सुरु गर्नेछन् । टाइपकाष्टबाट बच्ने सम्भावना छ ।

कात्तिक ६ गतेबाट रिलिज भएको यो चलचित्र अहिले सकारात्मक वर्ड अफ माउथसहित चलिरहेको छ । दर्शकले रगतको सँगै भावनाको नाता पनि उत्तिकै बलियो हुने र स्थानीय स्रोतको दोहनको कथा मन परेको प्रतिक्रिया दिइरहेका छन् ।

चलचित्र ‘वरिष्ठ बलराम’लाई सुरेन्द्र पौडेलले निर्देशन गरेका छन् । वृषभ सिद्धी इन्टरटेनमेन्ट को प्रस्तुतिमा आन्भी फिल्म्सको सहकार्यमा बनेको यो चलचित्रमा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके) लगायत कलाकारहरूको अभिनय छ ।

चलचित्रको कथा र सम्पादन निर्देशक पौडेलकै रहेको छ भने पटकथा महेश दवाडी ले लेखेका हुन् । निर्मातामा आशिष एच तामाङ र श्रीराज कार्की, कार्यकारी निर्मातामा प्रदीप जी धामी र पुष्कर बी। घिमिरे छन् । लाइन प्रोड्युसर राम विष्ट हुन् ।

मनकृष्ण महर्जन को छायांकन, प्रशान्त सिवाकोटी को संगीत, सम्राट बस्नेत को एक्सन निर्देशन र प्रदीप लामो को नृत्य निर्देशन रहेको चलचित्रलाई उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रीब्युसनले वितरण गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट