Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

चितवनमा पर्यटकले प्रत्यक्ष बाघ अवलोकन, निकुञ्जमा बाघ देख्ने क्रम बढ्दो

चितवनमा पर्यटकले प्रत्यक्ष बाघ अवलोकन, निकुञ्जमा बाघ देख्ने क्रम बढ्दो

चितवन :  सोमबार चितवन राष्ट्रिय निकुञ्ज घुम्न गएका बेलायती पर्यटकको समूहले प्रत्यक्ष बाघ अवलोकन गर्ने अवसर पाएका छन् । गत साता हल्याण्डका पर्यटकले पनि बाघ देखेपछि उत्साहित हुँदै खुसी व्यक्त गरेका थिए ।

निकुञ्जका कर्मचारी र सुरक्षाकर्मीका अनुसार पछिल्ला दिनमा विगतको तुलनामा बढी बाघ देखिन थालेका छन् । लामो समयपछि निकुञ्जमा जीप सफारी सञ्चालनमा आएपछि वन्यजन्तुहरूको गतिविधि पनि बढेको छ, जसका कारण पर्यटकले बाघसहित दुर्लभ जनावर सहजै देख्न पाएका छन् ।

सौराहस्थित वनबास रिसोर्टका महाप्रबन्धक प्रकाश न्यौपानेका अनुसार, “जीप सफारीमा निस्किने अधिकांश पर्यटकले बाघ देखेर फर्किएपछि निकै खुसी हुँदै प्रतिक्रिया दिने गरेका छन्,” उनले भने ।

भिम्ले पोष्ट नजिकै बेलायती जोडीले बाघ देखेपछि खुशी भएर ‘टिप्स’ दिएको पथप्रदर्शक सरोज चौधरीले बताए । उनका अनुसार अहिले ठाउँ–ठाउँमा बाघ देखिन थालेपछि स्वदेशी र विदेशी पर्यटक दुवै उत्साहित भएका छन् ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्तले पनि पछिल्लो समय बाघसहितका वन्यजन्तुहरू देख्ने सम्भावना बढेको बताए । उनका अनुसार ढड्डी सुकेर सुख्खा मौसम सुरु भएपछि निकुञ्ज खुला हुँदै जान्छ र त्यसअनुसार जनावरहरू खुला क्षेत्रमा देखिने गर्छन् ।

पछिल्लो तथ्यांक अनुसार चितवन राष्ट्रिय निकुञ्जमा १२८ वयस्क बाघ रहेका छन् । आहार प्रजातिको वृद्धि हुँदै जाँदा बाघको सङ्ख्या पनि बढ्दै गएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट