धनुषा : मधेस प्रदेशमा नयाँ राजनीतिक समीकरण बनेको छ। नेकपा एमालेका सरोज कुमार यादव मुख्यमन्त्री नियुक्त भएसँगै उनले सोमबार चार सदस्यीय मन्त्रिमण्डल गठन गरेका छन्। मुख्यमन्त्री यादवले शपथ ग्रहण गरेलगत्तै एमाले, संघीय समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट एक–एक जना मन्त्री नियुक्त गरेका हुन्।
मन्त्रिमण्डलमा एमालेबाट लखन दास, संघीय समाजवादीबाट विमला अन्सारी र राप्रपाबाट कन्चन बिच्छा मन्त्री बनेकी छन्। मधेसमा संघीय समाजवादी र राप्रपाको प्रदेशसभामा एक–एक सांसदमात्र रहेका छन्।
संविधानको धारा १६८ को उपधारा (२) अनुसार नियुक्त भएका पूर्वमुख्यमन्त्री जितेन्द्र सोनलले कात्तिक २३ गते पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले धारा १६८ को उपधारा (३) बमोजिम एमाले नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन्।
स्वास्थ्य उपचारका लागि भन्दै काठमाडौँ प्रस्थान गरेकी प्रमुख भण्डारीले बर्दिबासस्थित पानस होटलमा मुख्यमन्त्री यादवलाई शपथ खुवाएकी थिइन्। असामान्य स्थानमा गरिएको सो शपथ समारोहले राजनीतिक वृत्तमा आलोचना र विवाद दुवै निम्त्याएको छ।
त्यसैबीच, राजीनामा घोषणा गरेकी राप्रपाकी नेतृ कन्चन बिच्छा मन्त्री बनेकी छिन्। राप्रपाले भदौ २४ गते जारी गरेको विज्ञप्तिमा देशको पछिल्लो राजनीतिक अवस्थाले सरकार, संसद् र संविधानको औचित्य समाप्त भएको भन्दै संघ र प्रदेशका ४२ सांसदले सामूहिक राजीनामाको घोषणा गरेको थियो।
तर राजीनामाको घोषणा गरे पनि राप्रपाका प्रदेश सांसदहरूले मासिक पारिश्रमिक बुझ्दै आएको खुलासा भएको छ। यसैबीच नयाँ गठबन्धन र मन्त्रिमण्डल विस्तारसँगै मधेस प्रदेशको राजनीतिले पुनः नाटकीय मोड लिएको छ।

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij