Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

भरतपुर अस्पतालमा प्रसूति मृत्यु प्रकरण : परिवारलाई रोजगारी दिने सहमति

भरतपुर अस्पतालमा प्रसूति मृत्यु प्रकरण : परिवारलाई रोजगारी दिने सहमति

भरतपुर :  चितवनको कालिका नगरपालिका वडा नं २ निवासी संगीता विकको भरतपुर अस्पतालमा प्रसुती हुने क्रममा भएको मृत्यु प्रकरणमा मृतकका परिवारका एक सदस्यलाई भरतपुर अस्पतालमा रोजगारी दिने सहमति भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनमा भएको छलफलपछि मृतकको दाहसंस्कारका लागि कालिका नगरपालिका र अस्पताल प्रशासनको तर्फबाट यथोचित सहयोग उपलब्ध गराउने सहमति भएको हो ।

यसैगरी मृतक परिवारको कमजोर आर्थिक अवस्थालाई मध्यनजर गरी जीवन निर्वाहमा सहयोग होस् भन्ने हेतुले परिवारका एक जना सदस्यलाई अस्पतालमा सहयोगी पदमा रोजगारीको व्यवस्था मिलाउने सहमति भएको छ । घटनाको निश्पक्ष छानबिन गरी दोषीमाथि कारवाहीको लागि नेपाल मेडिकल काउन्सिलमा अनुरोध गरी पठाउने र मृतकको शव आफन्तले बुझी लिने सहमति भएको हो ।

सहमतिपत्रमा प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, कालिका नगरपालिकाका नगर उपप्रमुख विमला तामाङ्ग, प्रहरी उपरिक्षक गोविन्द पुरी, सशस्त्र प्रहरी उपरिक्षक धिरेन्द्र राज न्यौपाने, उप–अनुसन्धान निर्देशक सुरेश कुमार तिवारी, भरतपुर अस्पतालका मेसु प्रा.डा. कृष्ण प्रसाद पौडेल, नेपाल चिकित्सक संघ चितवन शाखा अध्यक्ष डा उमेश नेपाल, भरतपुर अस्पतालका प्रसुती तथा स्त्री रोग विभाग प्रमुख प्रा.डा सुनिल मणी पोखरेलले हस्ताक्षर गर्नु भएको छ ।

मृतकको तर्फबाट अनिता सुनार, विजय विश्वकर्मा, टिका तिवारी रिजाल, मृतकको छोरी वर्ष १६ की नविना सुनार, आमा गोमा सुनार, बुबा जंगबहादुर विश्वकर्मा, श्रीमान् जितबहादुर सहनी, कमलराज मोक्तानले हस्ताक्षर गर्नुभएको छ ।

भरतपुर अस्पतालमा सुत्केरी गराउन आएकी कालिका नगरपालिका–२ बस्ने संगीता विकको शनिबार राती मृत्यु भएको थियो । संगीताको मृत्युपश्चात आफन्तले चिकित्सकको लापरबाहीका कारण ज्यान गएको भन्दै छानबिन र कारबाहीको माग गरेका थिए । । संगीतालाई कार्तिक २० गते चेकजाँचका लागि भरतपुर अस्पताल ल्याइएको थियो । भिडियो एक्सरेमा बच्चाको धड्कन नभएको देखिएपछि चिकित्सकको सल्लाहमा उहाँलाई नर्मल डेलिभरीका लागि भर्ना गरिएको थियो । भर्नापछि उहाँलाई बेथा लगाउने औषधि चलाइएको थियो। कार्तिक २२ गते उनको अवस्था झन् बिग्रँदै गएको र रातको करिब ९ बजे आईसीयूमा सारिएकोमा ११ः४० मा मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट