जनकपुरधाम : मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आफ्नो नियुक्तिविरुद्ध सर्वोच्च अदालतले फैसला गरेमा तत्काल पद छाड्ने बताएका छन् ।
जनकपुरधाममा मंगलबार आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री यादवले सर्वोच्च अदालतले आफ्नो नियुक्ति असंवैधानिक वा गलत ठहराएमा एकछिन पनि पदमा नबस्ने बताएका हुन् ।
उनले भने, 'एमाले संविधान र कानूनको पालन गर्ने पार्टी हो। म सोही पार्टीको संस्कार बोकेको व्यक्ति हुँ, त्यसैले अदालतको आदेश आए लगत्तै सत्ता हस्तान्तरण गर्न तयार छु।'
मुख्यमन्त्री यादवले मधेस प्रदेशमा प्रतिनिधित्व गर्ने दलहरूले आफूलाई विश्वासको मत दिने विश्वास पनि व्यक्त गरे । उनका अनुसार, विगतमा एमालेले जसपा नेपाल र जनमत पार्टीलाई सरकार गठनमा सहयोग गरेको हुँदा अहिले ती दलहरूले पनि बाध्यात्मक परिस्थितिमा सरकार सञ्चालनको जिम्मेवारी लिएको एमालेलाई सहयोग गर्नेछन् भन्ने अपेक्षा रहेको छ ।
'संवैधानिक सर्वोच्चता कायम गर्न बाध्यात्मक अवस्थामा सबैभन्दा ठूलो दल एमालेको नेताको हैसियतले मुख्यमन्त्री बनेको हुँ,' यादवले भने, 'दलहरूले मलाई सहयोग गर्नेछन् भन्नेमा म विश्वस्त छु।'
यादवले अहिले आफूसँग एमालेका प्रदेशसभा सदस्यहरूको मात्र समर्थन रहेको स्पष्ट गर्दै अन्य दलहरूसँग छलफल प्रक्रिया अघि बढाइसकेको जानकारी दिए । उनले दलहरूसँगको संवादपछि सकारात्मक परिणाम आउने विश्वास व्यक्त गरे ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij