भरतपुर, चितवन : चितवन फोटोग्राफी संघ द्वारा आज भरतपुरमा रक्तदान कार्यक्रम भव्य रूपमा सम्पन्न गरिएको छ। सामाजिक उत्तरदायित्व र मानव सेवाप्रतिको प्रतिबद्धता जनाउँदै संघले रक्तदानको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्य सहित चौबीसकोठीबाट साहिद चौकसम्म जागरण र्याली आयोजना गरेको थियो। र्यालीमा सहभागिहरूले ‘रक्तदान—जीवन दान’, ‘तपाईंको थोपा–कसैको आशा’ जस्ता प्लेकार्डसहित स्थानीय समुदायलाई रक्तदान गर्न प्रेरित गर्ने सन्देशहरू प्रवाह गरेका थिए।

र्यालीपछि भरतपुर–१, चौबीसकोठीमा आयोजित रक्तदान कार्यक्रममा फोटोग्राफर, युवा, समाजसेवी, विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा स्थानीय बासिन्दाहरूको उत्साहजनक सहभागिता रहेको थियो। दर्जनौँ स्वयंसेवकहरूले रक्तदान गर्दै आपतकालीन अवस्थामा रुग्ण वा दुर्घटनाग्रस्त व्यक्तिहरूको जीवन बचाउन सहयोग पुर्याउने सङ्कल्प व्यक्त गरेका छन्।

कार्यक्रमको औपचारिक उद्घाटन भरतपुर महानगरपालिका उप–मेयर चित्रसेन अधिकारीले गर्नुभयो। उहाँले सम्बोधन गर्दै रक्तदान जीवन रक्षक सबैभन्दा पवित्र सामाजिक सेवा भएको उल्लेख गर्नुभयो। “समुदायबाटै यस्ता सकरात्मक अभियान निरन्तर सञ्चालन हुँदा समाजमा सहयोग, करुणा र मानवता जस्ता गुणहरू मजबुद बन्छन्,” भन्दै उप–मेयर अधिकारीले नियमित रक्तदान गर्ने संस्कार विकास गर्न सर्वसाधारणलाई आग्रह गर्नुभयो।

आयोजक चितवन फोटोग्राफी संघका पदाधिकारीहरूले रक्तदाताहरू, चिकित्सक टोली, स्वयंसेवक, सुरक्षाकर्मी तथा कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबै समर्थनकर्ताहरू प्रति विशेष धन्यवाद व्यक्त गरे। संघले आगामी दिनमा रक्तदान, सामाजिक सहयोग, सिर्जनात्मक गतिविधि र समुदाय विकाससँग सम्बन्धित कार्यक्रमहरू निरन्तरता दिने योजना रहेको जानकारी गराएको छ।

उक्त कार्यक्रमले भरतपुरमा रक्तदानप्रति सकारात्मक वातावरण निर्माण गरेको र युवाहरूको सक्रियता र नेतृत्वले समाजमा उदाहरणीय योगदान पुर्याएको सहभागीहरूले बताएका छन्।


© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij