Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

बागमतीका सभामुखको राजीनामाबारे दुई महिनापछि मात्रै सदस्यलाई जानकारी

बागमतीका सभामुखको राजीनामाबारे दुई महिनापछि मात्रै सदस्यलाई जानकारी

हेटौंडा : बागमती प्रदेशका सभामुख भुवनकुमार पाठकले १ असोजमै दिएको राजीनामा बारे दुई महिनापछि मात्रै प्रदेशसभा सदस्यहरुलाई औपचारिक जानकारी गराइएको छ । प्रदेशसभा सचिव रामकुमार पौडेलले आज बिहीवार सभामुखको राजीनामा सम्बन्धी सूचना निकालेर प्रदेशसभा नियमावली २०७४ को नियम १८४ को उपनियम (२) बमोजिम प्रदेशसभा सदस्यहरुलाई जानकारी गराएका हुन् । सभामुख भुवनकुमार पाठकले भने १ असोजमै उपसभामुख अप्सरा चापागाईंलाई राजीनामा दिएका थिए । जेनजीहरुको आन्दोलन चर्किएपछि गत २४ भदौमा सामाजिक सञ्जालबाट राजीनामा घोषणा गरेका पाठकले १ असोजमा इमेलमार्फत राजीनामा पत्र पठाएका थिए ।

२४ भदौमा राप्रपाबाट निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभा सदस्यहरुले सामूहिक राजीनामा दिने भएपछि पाठकले पनि सभामुख पदबाट राजीनामा दिएका हुन् । बागमती प्रदेशसभाको रिक्त सभामुख पदमा नयाँ सभामुख चयन प्रक्रियाका लागि सत्तारुढ दल नेपाली कांग्रेस र एमाले छलफलमा छन् । सभामुख कसले लिने भन्ने विषयमा सहमति नजुट्दा प्रदेशसभा बैठक पनि बस्न सकेको छैन ।

सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस, सत्ता साझेदार दल नेकपा एमाले र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र मध्ये कसलाई सभामुख दिने भन्ने विषयमा सहमति जुट्न नसकेको हो । सभामुखमा तीन दलले नै दाबी गर्दै आएका छन् । तीन दलकै संसदीय दलको बैठकले औपचारिक निर्णय गरेर सभामुखमा दाबी गरेका थिए ।

प्रदेशसभा बसेको १५ दिनभित्र सभामुख चयन गरिसक्नुपर्ने संवैधानिक प्रावधान छ । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज बिहीबार मात्रै प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा प्रदेशसभाको चालु सोह्रौ अधिवेशन अन्त्य गरेका छन् ।सरकारले हिउँदे अधिवेशन बोलाउने तयारी गरिरहेको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट