लमजुङ : गण्डकी प्रदेश सरकारले जिल्लामा रहेका सामाजिक विकास कार्यालय र उद्योग तथा पर्यटन विकास कार्यालयलाई एकीकृत गर्दै नयाँ सेवा प्रारम्भ गरेको छ। अब दुबै कार्यालय गण्डकी प्रदेश सरकार, उद्योग तथा पर्यटन मन्त्रालय तथा सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय, एकीकृत सेवा कार्यालय नामबाट सञ्चालन हुनेछ।
सेवा शुभारम्भ गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले गर्नुभएको थियो। मन्त्री गुरुङले सीमित स्रोत साधनलाई नागरिक सेवामा अधिकतम उपयोग गर्नुपर्ने, सेवा प्रवाहलाई प्रभावकारी र चुस्त बनाउन प्रविधिमैत्री प्रणाली अपनाउनुपर्ने बताउनुभयो।
जिल्ला समन्वय समिति लमजुङका प्रमुख पूर्णबहादुर गुरुङले सेवालाई अझ प्रभावकारी बनाउने, र प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेले एकीकृत सेवाले लागत घटाउने र नागरिकलाई सहज सुविधा मिल्ने बताएका छन्।
एकीकृत सेवा कार्यालयकी प्रमुख मिता कुमारी थापाले कार्यालयका अधिकार, कार्ययोजना र कर्मचारी दरबन्दीबारे जानकारी दिई, हाल पाँचवटा पद रिक्त रहेको हुँदा सेवा प्रभावकारी बनाउन ध्यानाकर्षण गराउनुपर्ने बताए।
प्रदेश सरकारले यसअघि सातवटा निर्देशनालय खारेज गरी केही कार्यालय एकीकृत गर्ने निर्णय गरेको थियो र सोही कार्यान्वयनको सुरुवात यस कार्यालयबाट गरिएको हो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij