Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

नारायणी नदीमा ‘सिग्नेचर पुल’ निर्माण सुरु : दुई सातादेखि फिल्ड कार्य, बर्खाअघि डेकुरेशन सक्ने लक्ष्य

नारायणी नदीमा ‘सिग्नेचर पुल’ निर्माण सुरु : दुई सातादेखि फिल्ड कार्य, बर्खाअघि डेकुरेशन सक्ने लक्ष्य

चितवन :  पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवनको भरतपुर र नवलपुरको गैँडाकोट जोड्ने नारायणी नदीमा ‘सिग्नेचर पुल’ निर्माणको काम औपचारिक रूपमा सुरु भएको छ। ठेक्का प्राप्त तुँदी निर्माण कम्पनीले दुई सातादेखि फिल्डको प्रारम्भिक काम सुरु गरेको जनाएको छ।

‘अहिले नारायणगढ तर्फ पाइलिङको तयारी भइरहेको छ’, प्रोजेक्ट म्यानेजर इन्जिनियर मञ्जिल मिश्रले बताए। उनका अनुसार बर्खा अगाडि नै डेकुरेशनको काम सक्ने लक्ष्यका साथ काम तीव्र गतिमा अघि बढाइएका छन्। करिब एक अर्ब ६८ करोड लागतमा निर्माण भइरहेको यो पुल ३६ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ।

चार पिलर, दुई लेन र अत्याधुनिक प्रविधियुक्त पुल

सिग्नेचर पुलमा नदीभित्र दुई र दायाँ–बायाँ गरी चार पिलर रहनेछन्।
मिश्रका अनुसार एक महिनाभित्र नारायणगढतर्फ पाइलिङ पूरा गरेर गैँडाकोटतर्फ अर्को महिनादेखि पाइलिङ सुरु गरिनेछ। यस वर्ष फाउण्डेशन तथा सब–स्टक्चरका केही काम सुरू गरिने बताएका छन्।

‘बर्खाअघि पिलर उठाउँदैैनौँ, अर्को वर्षदेखि पिलर उठाएर काम गर्ने योजना छ’, मिश्रले भने।
प्राकृतिक प्रकोप नभए २५–३० प्रतिशत फाउण्डेशन कार्य यस वर्षमै पूरा गर्ने योजना छ।

४२० मिटर लम्बाइ, ११ मिटर चौडाइ

हालको पुल जिर्ण हुँदै गएकाले त्यसको समानान्तर ४२० मिटर लामो र ११ मिटर चौडा नयाँ पुल निर्माण हुँदैछ। आर्चब्रिज, केबल नेटवर्किङ आर्च र सस्पेन्सन प्रविधि प्रयोग हुने बताइएको छ।
पुलमा दुई लेनका साथ साइकल लेन, दुई स्थानमा टावर, तथा पुलमुनिबाट पानी जहाज सञ्चालन सम्भव हुने संरचना रहनेछ।

नयाँ पुलको आयु कम्तीमा १०० वर्ष रहने अनुमान गरिएको छ। अहिलेको पुल वि.स. २०३८ मा बनेको हो र यसको आयु ७० वर्ष निर्धारण गरिएको थियो।

शिलान्यास २०८१ बैशाख ३१ गते

पुलको शिलान्यास तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वि.स. २०८१ बैशाख ३१ गते गरेका थिए।
महेन्द्र राजमार्गको चौडाइ विस्तारका क्रममा पुल पनि फराकिलो आवश्यक भएकोले नयाँ सिग्नेचर पुल निर्माण थालिएको हो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट