Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

रोहिंग्याको अवैध प्रवेश रोक्न सुदूरपश्चिमका नाकामा उच्च सतर्कता, परिचयपत्र अनिवार्य

रोहिंग्याको अवैध प्रवेश रोक्न सुदूरपश्चिमका नाकामा उच्च सतर्कता, परिचयपत्र अनिवार्य

धनगढी : सुदूरपश्चिम प्रदेशका भारतसँगको सीमा नाकाहरूमा सुरक्षा व्यवस्था कडा पारिएको छ। रोहिंग्या शरणार्थीहरू अवैध रूपमा नेपाल प्रवेश गर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै सुरक्षा निकायले चेकजाँचमा कडाइ गरेका हुन्।

विशेष गरी कैलालीको त्रिनगर र कञ्चनपुरको गड्डाचौकी लगायतका मुख्य नाकाहरूमा खटिएका सुरक्षाकर्मीले नेपाल भित्रिनका लागि परिचयपत्र अनिवार्य रूपमा जाँच गरिरहेका छन्। शङ्कास्पद व्यक्तिहरूसँग विस्तृत सोधपुछ र विवरण सङ्कलन गर्ने कामलाई तीव्रता दिइएको छ।

सुरक्षा अधिकारीहरूका अनुसार, रोहिंग्या शरणार्थीहरूले नक्कली भारतीय आधार कार्ड बनाएर मजदुरको भेषमा नेपाल छिर्ने गरेको सूचना प्राप्त भएको छ। भारतमा हाल मतदाता नामावली शुद्धीकरण अभियान चलिरहेको हुँदा त्यहाँ बसिरहेका रोहिंग्याहरू नेपालतिर सर्ने जोखिम बढेको सुरक्षा निकायको विश्लेषण छ। हाल नेपालमा करिब ६ सय रोहिंग्या अवैध रूपमा बसिरहेको तथ्यांक छ।

त्रिनगर सीमा सुरक्षा गुल्मका प्रमुख, डीएसपी धिरेन्द्र शाहका अनुसार भारतीय सीमा सुरक्षा बल (एसएसबी) सँग पनि समन्वय गरिएको छ। शङ्कास्पद गतिविधि देखिएमा तत्काल खबर गर्न आग्रह गरिएको उनले बताए।

केही दिनअघि गृहमन्त्री ओमप्रकाश अर्यालले समेत त्रिनगर नाकाको निरीक्षण गर्दै चेकजाँच प्रक्रियाबारे जानकारी लिएका थिए । उनले नाकामा आधुनिक प्रविधिको प्रयोग बढाउनुपर्नेमा जोड दिएका थिए।

१०१ किलोमिटर खुला सीमा रहेको कैलालीमा गस्ती बढाइएको सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिए। यस्तै १२९ किलोमिटर सीमा क्षेत्रमा २४ वटा सुरक्षा पोस्टमार्फत कडा निगरानी भइरहेको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बताए।

पहाडी जिल्लाका नाकामा पनि कडाइ गरिएको छ। बैतडीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलका अनुसार, जुलाघाट नाकामा परिचयपत्र हेरेर नाम दर्ता गरेपछि मात्र आवतजावत गर्न दिइएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट