Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

भरतपुरमा हर्क स्याम्पाङको सम्बोधन: “छ लेन होइन, तटबन्ध प्राथमिकता हो”

भरतपुरमा हर्क स्याम्पाङको सम्बोधन: “छ लेन होइन, तटबन्ध प्राथमिकता हो”

भरतपुर : श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (स्याम्पाङ) आइतबार पार्टी संगठन विस्तारका क्रममा भरतपुर आइपुगेका छन्। नारायणी नदी किनारमा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले भरतपुरमा भइरहेको विकासको प्राथमिकताबारे प्रश्न उठाए।

राईले विशेष गरी भरतपुरमा निर्माण भइरहेको छ लेन सडकलाई लक्षित गर्दै “बाटो मात्र विकास होइन” भन्दै नारायणी नदी तटबन्धलाई पहिलो प्राथमिकतामा राखिनुपर्ने बताए। गाजीपुर क्षेत्रमा तटबन्ध फुट्ने जोखिम रहेको स्थानीयले दिएको जानकारी सुनाउँदै उनले धेरै घर डुबानमा पर्ने खतरा देखिएको बताए।

“छ लेनभन्दा तटबन्ध महत्त्वपूर्ण हो। धेरै जनताको बासस्थान जोखिममा छ,” राईले भने।

जनसभामा सम्बोधन गर्दै उनले चितवनका जनताहरू मासुभातमा नबिक्ने खालका भएको भन्दै श्रम संस्कृति पार्टीलाई आगामी निर्वाचनमा बहुमत दिन आग्रह गरे। उनले पार्टीलाई बहुमत मिले पाँच वर्षभित्र देशलाई पूर्ण रूपले रूपान्तरण गर्ने दाबी गरे।

“५ वर्षभित्र देशलाई बदल्न सकेनौं भने म देश छाडेर हिँड्छु,” स्याम्पाङले जनसभामा प्रतिवद्धता व्यक्त गरे।

श्रम संस्कृति पार्टी कुनै सामान्य राजनीतिक पार्टी नभई एक “अभियान” रहेको उल्लेख गर्दै उनले पार्टीमा कार्यकर्ता नभई श्रमदाता मात्र हुने बताए। युवालाई श्रम र उत्पादनसँग जोड्नका लागि नै श्रम संस्कृति पार्टी स्थापना भएको उनले स्पष्ट पारे।

राईको भरतपुर भेटसँगै चितवनमा श्रम संस्कृति पार्टीको गतिविधि र जनसक्रियता बढ्दै गएको देखिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट