Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

नेपालमा बक्स अफिसको माहोल, लगातार हिट फिल्महरूको वर्ष

नेपालमा बक्स अफिसको माहोल, लगातार हिट फिल्महरूको वर्ष

काठमाडौँ : पछिल्लो समय नेपाली चलचित्र क्षेत्रले व्यापारिक रुपमा ऐतिहासिक प्रगति गरिरहेको छ। कुनै समय लगानी उठाउन संघर्ष गर्ने नेपाली फिल्म उद्योग अहिले लगातार ब्लकबस्टर सफलताबाट उत्साहित देखिन्छ।

गत वर्ष ‘सारङ्गी’ ले गरेको ऐतिहासिक व्यापारपछि बजारमा आएको नयाँ फिल्महरूले उक्त सफलता दोहोर्याइरहेका छन्। चलचित्र विकास बोर्डअन्तर्गत ‘बक्स अफिस एटदरेट सिनेपाः’ ले सार्वजनिक गरेको मन्सिर २० गतेसम्मको तथ्याङ्कअनुसार विभिन्न फिल्महरूले उत्साहजनक व्यवसाय गरेका छन्।

सबैभन्दा अगाडि रहेको चलचित्र ‘परान’ ले करिब रु १७ करोड व्यापार गर्दै यो वर्षकै अग्रणी सफल फिल्म बनेको छ। कात्तिक १४ गतेदेखि प्रदर्शनमा आएको फिल्मले रु १६ करोड ९७ लाख ९३ हजार ३५४ कमाएको छ। बसाइँसराइ र पारिवारिक कथामा बनेको फिल्म दीपकप्रसाद आचार्यको निर्देशन रहेको छ। नीर शाह, मदनकृष्ण श्रेष्ठ, केकी अधिकारी, महेश त्रिपाठीलगायत दमदार कलाकारको अभिनय रहेको फिल्मका ५ लाख ९८ हजार ३०९ टिकट बिक्री भएका छन्।

यस्तै असोज ३१ गते रिलिज भएको ‘जेरी अन टप’ ले पनि बलियो उपस्थिति जनाउँदै ३ लाख ९१ हजार ९९२ टिकट बिक्रीसहित रु १२ करोड २६ लाख ६ हजार २४० को व्यापार गरेको छ। अनमोल केसी र आँचल शर्माको जोडीसहित जसिता गुरुङ, भुवन केसी, केदार घिमिरेलगायत कलाकार अभिनीत फिल्मलाई सुयोग गुरुङले निर्देशन गरेका हुन्।

कवि उपेन्द्र सुब्बाले निर्देशन गरेको ‘जारी २ : सङ अफ च्याब्रुङ’ ले पनि राम्रो व्यापार गर्दै २ लाख ७ हजार ७१४ टिकट बिक्रीसहित रु ६ करोड २३ लाख ६९ हजार २०० कमाएको छ। लिम्बू परम्परा, जारी संस्कार र च्याब्रुङ नृत्यको कथामा बनेको यो फिल्म कात्तिक २१ देखि प्रदर्शनरत छ।

बाल गायक अशोक दर्जीको जीवनकथामा आधारित ‘मनबिनाको धन’ ले पनि स्थिर व्यापार गर्दै रु ३ करोड ७९ लाख २ हजार ८७९ आम्दानी गरेको छ। यसका १ लाख ४५ हजार ५९ टिकट बिक्री भएका छन्।

यसैगरी, मंसिर १२ गतेदेखि चलिरहेको ‘हर्ष’ ले शनिबारसम्म रु २८ लाख २ हजार ३४६ व्यापार गरेको छ। आठ हजारभन्दा बढी टिकट बिक्री भएको फिल्ममा खगेन्द्र लामिछाने, वर्षा राऊत, साइमन वादी, नीर शाहलगायत कलाकारको अभिनय समावेश छ।

सिने क्षेत्रका जानकारका अनुसार पछिल्लो समय निरन्तर आएका सफल फिल्महरूले नेपाली चलचित्र व्यवसायमा नयाँ विश्वास र उचाइ स्थापित गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट