रत्ननगर : रत्ननगरस्थित न्यू क्यापिटल कलेजले आफ्नो २५औँ वार्षिकोत्सवको अवसरमा तीन दिने “नेक्सस १.०” कार्यक्रम तथा जिल्ला स्तरीय विज्ञान प्रदर्शनी सम्पन्न गरेको छ। जिल्लाभरका विद्यालयका प्रतिनिधि तथा विद्यार्थी सहभागी भएको कार्यक्रममा रोबो रेस, रोबो ब्याटल, ह्याकाथन, फुड फेस्टिवल र विभिन्न व्यावहारिक गतिविधिहरू आयोजना गरिएको थियो।
कार्यक्रम अन्तर्गत विद्यार्थीलाई व्यवसाय सुरु गर्ने तरिका, लगानी र नाफा सम्बन्धी व्यवहारिक ज्ञान प्रदान गरिएको थियो। संयोजक तारा ढुंगानाले यस कार्यक्रमले विद्यार्थीहरूको चौतर्फी विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन्। कार्यक्रममा प्रमुख अतिथि रत्ननगर नगरपालिका शिक्षा अधिकारी नारायण वाग्लेले विद्यार्थीहरूको सिर्जनशीलता र क्षमता अभिवृद्धि हुने बताए।
साथै, कलेजले आयोजना गरेको जिल्ला स्तरीय विज्ञान प्रदर्शनीमा लाइसियम इन्टरनेशनल मोडल स्कूल प्रथम भएको छ। कक्षा १० का विद्यार्थीहरूले “स्मार्ट किचन” परियोजना प्रस्तुत गर्दै परम्परागत काठ दाउराको चुलो र ग्यास सिलिन्डर प्रयोगमा हुने जोखिमलाई न्यूनीकरण गर्ने आधुनिक समाधान प्रस्तुत गरे। लाइसियम समूहले २८ विद्यालयलाई पछि पार्दै १२ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र र ट्रफी प्राप्त गर्यो।
विद्यालयका विज्ञान शिक्षक सुभाष पौडेल र प्राचार्य पशुपति उपाध्यायले विद्यार्थीहरूमा विज्ञान र प्रविधि सम्बन्धी रुचि बढेको र प्रयोगशालामा सक्रिय अभ्यास भइरहेको बताए। विद्यार्थीहरूले आगामी प्रतियोगितामा सहभागी हुने उत्साह व्यक्त गर्दै कलेज परिवारप्रति आभार प्रकट गरेका छन्।
कार्यक्रममा प्याब्सन चितवन, हिसान चितवन, र अन्य शाखाका अध्यक्ष तथा प्रतिनिधिहरू पनि सहभागी थिए। उत्कृष्ट विद्यार्थीहरूलाई प्रमाणपत्र, ट्रफी र नगद पुरस्कार प्रदान गरिएको थियो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij