Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु, १५० जना गणक कार्यक्षेत्रमा खटिए

चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु, १५० जना गणक कार्यक्षेत्रमा खटिए

चितवन : चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि बाघ गणना सुरु भएको छ। पुस १ र २ गते प्रशिक्षण प्राप्त एक सय ५० जना गणकहरू आज कार्यक्षेत्रमा खटिएका हुन्।

निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार त्रिवेणी, अमलटारी, कसरा हुँदै बरणडाभार क्षेत्रमा गणकहरू खटिएका छन्। पहिलो भागमा २८६ वटा ग्रिडमा गणना गरिँदैछ, प्रत्येक ग्रिडमा एउटा जोडी स्वचालित क्यामेरा राखिनेछ।

चितवन–पर्सा ब्लकमा कुल ९५८ ग्रिड बनाएर बाघ गणना गरिँदैछ। प्रत्येक ग्रिड दुई वर्ग किलोमिटर क्षेत्रफलको हुनेछ र क्यामेराले बाघको फोटो खिच्नेछ। बाघको शरीरमा रहेका फरक–फरक पाटाको आधारमा तिनीहरूको संख्या छुट्याइनेछ।

यसैगरी बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पनि गणना सुरु भइसकेको छ। गणना प्रक्रिया तीन महिना लगाएर सम्पन्न हुने योजनामा छ। निकुञ्जका कर्मचारी, स्थानीय स्वयंसेवी, विद्यार्थी र संरक्षण साझेदारहरूले गणनामा सक्रिय सहभागिता जनाएका छन्।

गत सन् २०२२ मा गरिएको बाघ गणनामा नेपालमा ३५५ वयस्क बाघ रहेको तथ्याङ्क सार्वजनिक भएको थियो। यसपछि बाघ गणना सम्पन्न भएपछि निकुञ्ज कार्यालयले गैँडा गणना पनि गर्ने तयारी गरेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट