पोखरा : गण्डकी प्रदेश सरकारको पुँजीगत बजेट खर्चको अवस्था टिठलाग्दो देखिएको छ । अर्थ मन्त्रालयका अनुसार चालू आर्थिक वर्ष २०८२-०८३ को पहिलो ५ महिनामा पुँजीगत खर्च जम्मा ९.६२ प्रतिशत भएको हो ।
प्रदेश सरकारले चालू वर्षमा कार्यान्वयन हुने गरी ३१ अर्ब ९९ करोडको बजेट ल्याएको थियो । त्यसमध्ये १९ अर्ब ९ करोड पुँजीगत शीर्षकमा छ । अर्थ मन्त्रालयका अनुसार, अहिलेसम्म १ अर्ब ८३ करोड मात्रै पुँजीगत बजेट खर्च भएको छ ।
पुस ६ गतेसम्मको अद्यावधिक विवरण हेर्दा पूरा बजेटको १२.२३ प्रतिशत मात्रै खर्च भएको छ । कर्मचारीको तलब भत्ता तथा प्रशासनिक कार्यमा हुने चालु खर्च भने पुँजीगत खर्चको तुलनामा केही बढी देखिएको छ । १२ अर्ब ६३ करोड ६६ लाख ७५ हजार विनियोजन भएको चालु शीर्षकमा हालसम्म २ अर्ब ७ करोड ५३ लाख खर्च भएको हो । यो रकम पूरा बजेटको १६.४२ प्रतिशत हो ।
वित्तीय व्यवस्थातर्फ २५ करोड रुपैयाँ विनियोजन गरिएकोमा हालसम्म खर्च भएको छैन । पूरा बजेटमध्ये आम्दानी भने ३० अर्ब नाघेको छ । हालसम्म ३१.७२ प्रतिशत प्रगति हासिल भइसकेको अर्थ मन्त्रालयले जनाएको छ । पाँच महिनाको अवधिमा सरकारको ढुकुटीमा १० अर्ब १४ करोड ३८ लाख रुपैयाँ जम्मा हुँदा, खर्च भने मात्र ३ अर्ब ९१ करोड १८ लाख रुपैयाँ भएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij