देवघाट : भरतपुरस्थित देवघाटमा निर्माण गरिएको विद्युतीय शवदाह गृह सञ्चालनमा आउन नपाउँदै बिग्रिएको छ। करिब सात वर्ष लगाएर निर्माण गरिएको यन्त्र प्राविधिक समस्याका कारण पुस ६ गतेदेखि बन्द भएपछि देवघाटमा पुनः दाउराकै प्रयोग गरेर दाहसंस्कार गर्न थालिएको छ।
करिब सात वर्षको प्रतीक्षापछि सञ्चालनमा आएको देवघाटको विद्युतीय शवदाह यन्त्र एक महिना पनि नपुग्दै बन्द भएको छ। पुस ६ गतेपछि यन्त्रबाट शवदाह हुन नसकेपछि दाहसंस्कार पुनः दाउराकै भरमा भइरहेको छ।
भरतपुर महानगरपालिकाका अनुसार शवदाह यन्त्र परीक्षणकै क्रममा बिग्रिएको हो। शवदाह गृह हेर्ने स्रोत व्यक्ति बालकृष्ण थपलियाका अनुसार उद्घाटनको एक–दुई दिनमै प्राविधिक समस्या देखिएपछि यन्त्र सञ्चालन रोकिएको हो। काठमाडौँबाट प्राविधिक टोली बोलाएर समस्या पहिचान गर्ने काम भइरहेको उनले बताए।
परीक्षणका क्रममा शव जल्न अत्यधिक समय लाग्ने, धेरै धुवाँ निस्कने र दुर्गन्ध फैलिने समस्या देखिएको छ। यन्त्रबाट एउटा शव ४५ मिनेटमा जल्ने बताइए पनि परीक्षणका क्रममा नौ घण्टासम्म लागेको पाइएको छ। पछिल्लोपटक पुस ६ गते जलाइएको शव नष्ट हुन एक घण्टा १० मिनेट लागेको थियो।
११ करोड २१ लाख रुपैयाँभन्दा बढी लागतमा निर्माण गरिएको शवदाह गृहमा दुई वटा विद्युतीय यन्त्र जडान गरिएका छन्। प्रदूषण नियन्त्रणका लागि पोलुसन कन्ट्रोल युनिट र ३० मिटर अग्लो चिम्नी पनि जडान गरिएको छ। निर्माण कम्पनीसँग एक वर्षसम्म मर्मतसम्भार गर्ने सम्झौता भएकाले कम्पनीलाई समेत मर्मतका लागि बोलाइएको महानगरले जनाएको छ।
गत असोज २४ गते महानगरलाई हस्तान्तरण गरिएको शवदाह गृह मङ्सिर १६ गतेदेखि सञ्चालनमा ल्याइएको थियो। शवदाहका लागि शुल्क तीन हजार पाँच सय रुपैयाँ तोकिएको छ भने दाउराबाट दाहसंस्कार गर्दा चार हजार पाँच सय रुपैयाँ लाग्ने गर्छ।
देवघाट क्षेत्र विकास समितिका अनुसार देवघाटमा दैनिक औसत नौ वटा शवको दाहसंस्कार हुने गरेको छ। चितवन, नवलपुर र तनहुँलगायत जिल्लाबाट शव ल्याइने गरेको छ। यन्त्र बिग्रिएपछि वातावरणमैत्री दाहसंस्कारको उद्देश्य अधुरै बनेको छ। कहिलेसम्म समस्या समाधान हुन्छ भन्ने विषयमा सम्बन्धित निकायको चासो बढेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij