चितवन : आगामी माघ १ गतेबाट प्रदर्शनमा आउने नेपाली सिनेमा ‘भाइरल गोर्खे’को ट्रेलर सार्वजनिक गरिएको छ। बुधबार राजधानीमा आयोजित विशेष कार्यक्रममा सार्वजनिक गरिएको ३ मिनेट ५५ सेकेण्ड लामो ट्रेलरले सिनेमाको कथावस्तु, भाव र सन्देशलाई स्पष्ट रूपमा प्रस्तुत गरेको छ।
सामाजिक सञ्जालमा भाइरल बन्ने चाहनामा मुख्य पात्र गोर्खे (सौगात मल्ल) ले गर्ने संघर्ष, जोखिमपूर्ण हर्कत र त्यसबाट सिर्जित परिस्थितिलाई सिनेमाले रोचक ढंगले चित्रण गरेको छ। ट्रेलरमा सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठको जोडी देखिएको छ, जसले कथालाई भावनात्मक आयाम दिएको छ। ट्रेलरले दर्शकमाझ सिनेमाप्रति उत्सुकता र उत्साह बढाउने संकेत गरेको छ।
सिनेमामा सौगातले एक्सन स्टार शिव श्रेष्ठजस्तै चर्चित बन्ने सपना बोकेको पात्रको भूमिका निर्वाह गरेका छन्। टिकटकजस्ता सामाजिक सञ्जालमा धेरै भ्यूज पाउन उनी अनौठा र जोखिमपूर्ण हर्कत गर्न बाध्य हुन्छन्। भाइरल भएपछि प्राप्त हुने चर्चासँगै वास्तविक जीवनका चुनौती आउँदा रिल र रियल लाइफबीचको द्वन्द्वलाई सिनेमाले गहिराइका साथ प्रस्तुत गरेको छ।
समसामयिक नेपाली समाजमा बढ्दो ‘भाइरल संस्कृति’ लाई व्यंग्य र प्रश्नसहित उठान गरिएको यस सिनेमाले दर्शकलाई सोच्न बाध्य बनाउने विश्वास निर्माण पक्षले गरेको छ।
यसअघि ‘छड्के’, ‘लालपूर्जा’ र ‘छड्के २’ निर्देशन गरिसकेका निगम श्रेष्ठको निर्देशनमा बनेको ‘भाइरल गोर्खे’ ले दर्शकलाई मनोरञ्जनसँगै सशक्त सन्देश दिने अपेक्षा गरिएको छ। निर्देशक श्रेष्ठका अनुसार घरघरको कथालाई पर्दामा उतारिएकाले दर्शकले सिनेमालाई आत्मीय रूपमा ग्रहण गर्नेमा उनी विश्वस्त छन्।
एके ब्रदर कम्पनी, द जिएमआई एकेडेमी र निर्भाना फिल्म स्कुलको ब्यानरमा निर्माण भएको सिनेमामा सौगात मल्ल र सृष्टि श्रेष्ठसँगै बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, ऋषि धमला, रवि भुजेल र मिस पवीको अभिनय रहेको छ।
सिनेमाका निर्माता अमित श्रेष्ठ, विशाल ताम्राकार, महेश लामिछाने र केवल जंग कुँवर हुन् भने सह–निर्मातामा निर्भाना फिल्म स्कुल, भुवन अधिकारी र निखिल पौडेल रहेका छन्। अमर महर्जनको छायांकन रहेको यो सिनेमा लमजुङको भुजुङ गाउँ, गोरखा र चितवनमा छायांकन गरिएको हो। सिनेमाका वितरक सुनिल मानन्धर, द्वन्द निर्देशक श्री श्रेष्ठ तथा सम्पादनमा बन्दे प्रसाद, रवि चौधरी र भीम विश्वकर्मा रहेका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij