Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

विजय थलापतिको अन्तिम फिल्म ‘जन नायकन’ जनवरी ९ बाट रिलिज, अग्रिम बुकिङमा रेकर्ड, अब ३० वर्ष राजनीति गर्ने घोषणा

विजय थलापतिको अन्तिम फिल्म ‘जन नायकन’ जनवरी ९ बाट रिलिज, अग्रिम बुकिङमा रेकर्ड, अब ३० वर्ष राजनीति गर्ने घोषणा

मुम्बई : साउथका चर्चित अभिनेता विजय थलापतिको प्रतीक्षित फिल्म ‘जन नायकन’ आगामी जनवरी ९ बाट सार्वजनिक प्रदर्शनमा आउँदैछ। ५१ वर्षीय विजयले आफ्नो ३३ वर्ष लामो फिल्म करियरको अन्त्य गर्दै राजनीतिमा पूर्ण समर्पण गर्ने घोषणा गरेका छन्।

फिल्म रिलिज हुन केही दिन मात्र बाँकी रहँदा यसको अग्रिम बुकिङ चर्चा बटुलिरहेको छ। कर्नाटकमा बिहानी शोका अधिकांश टिकटहरू बिक्री भइसकेका छन्। बेंगलुरुमा तमिल फिल्मको विशेष मर्निङ शोका लागि दर्शकहरूले २ हजार भारतीय रुपैयाँसम्म तिरेका छन्, कतिपय स्थानमा टिकटको मूल्य १ हजार भारु राखिएको थियो।

तर तमिलनाडुमा अग्रिम बुकिङ अझै खुलेको छैन। समाचार अनुसार फिल्म निर्माता टोली सेन्सर बोर्डको प्रमाणपत्रको पर्खाइमा छन्। बोर्डले फिल्ममा केही परिवर्तनको सुझाव दिएको कारण बुकिङ ढिला भएको हो।

गत डिसेम्बर २८ मा मलेसियामा आयोजित फिल्मको अडियो लन्च कार्यक्रममा विजयले आफ्नो संन्यासको घोषणा गरेका थिए। उनले भने,

“मेरा लागि एउटै कुराले अर्थ राख्छ—मानिसहरू मेरो फिल्म हेर्न थिएटर आउँछन् र लाइनमा बस्छन्। अब म आगामी ३०–३३ वर्ष उनीहरूको सेवाका लागि उभिन चाहन्छु। आफ्नै फ्यानहरूका लागि म फिल्मबाट संन्यास लिँदैछु।”

विजयले १० वर्षको उमेरमा ‘वेट्री’ फिल्मबाट बालकलाकारको रूपमा अभिनय सुरु गरेका थिए। १८ वर्षको उमेरमा सन् १९९२ को फिल्म ‘नालैया थीरपू’ बाट उनले डेब्यु गरेका थिए। आफ्नो करियरमा ६८ वटा फिल्ममा काम गरिसकेका विजयले ‘मास्टर’, ‘थेरी’ र अन्य ब्लकबस्टर फिल्महरू दिएका छन्। ‘जन नायकन’ उनको ६९औँ र अन्तिम फिल्म हुनेछ।

फिल्म रिलिजसँगै विजयका फ्यानहरू र तमिल सिनेप्रेमीहरुमा उत्साहको लहर चलेको छ, र अभिनेता–राजनेता विजयले आफ्नो आगामी राजनीतिक यात्रा पनि सुरु गर्न तयार देखिन्छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट