Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

साफ महिला च्याम्पियनसिप : भुटानमाथि भारतको गोलवर्षा

साफ महिला च्याम्पियनसिप : भुटानमाथि भारतको गोलवर्षा

कास्की : पोखरामा जारी १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको आजको पहिलो खेलमा भारतले भुटानलाई ८-० को फराकिलो अन्तरले पराजित गरेको छ।

पोखरा रङ्गशालास्थित अन्तर्राष्ट्रिय फुटबल रङ्गशालामा भएको खेलमा प्रभावशाली जित दर्ता गर्ने क्रममा भारतले पहिलो हाफमा सात र दोस्रो हाफमा एक गोल गर्न सफल भयो। भारतकी पर्ल फर्नान्डेजले खेलमा ह्याट्रिक गर्न सफल भइन्। उनले खेलको छैटौँ, ३९औँ र ४१औँ मिनेटमा गोल गरेकी थिइन्। त्यसैगरी प्रतिका बर्मनले २५औँ र ९०औँ मिनेटमा गोल गरिन्। एलिशा लिङदोज, एविस्था र दिव्यानी लिन्डाले समान एक/एक गोल गरेका छन्।

भुटानलाई फराकिलो अन्तरले हराएसँगै भारतले फाइनल प्रवेशको सम्भावना बलियो बनाएको छ। भारतको प्रभावशाली जितसँगै नेपालको फाइनल प्रवेशको सम्भावना कठिन बनेको छ। दुई खेल जितेको भारतले बङ्गलादेशसँग समान छ अङ्क बनाएको छ।

बङ्गलादेशले भने एक खेल खेल्न बाँकी छ। घरेलु टोली नेपाल तीन अङ्कसहित तेस्रो स्थानमा छ। लिग चरणको अर्को खेल नेपाल र बङ्गलादेशबीच हुँदै छ। यस खेलको नतिजाले फाइनल खेल्ने टोलीको टुङ्गो लाग्नेछ। फाइनल प्रवेशका लागि नेपालले बङ्गलादेशलाई फराकिलो अन्तरले हराउनुको विकल्प छैन। प्रतियोगिताको अङ्क तालिकामा शीर्ष दुईमा रहने टोलीबीच फाइनल खेल यही २४ माघमा सञ्चालन हुनेछ। 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट